रसुवा - भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ।
बाढीबाट सडक, पुल, विद्युत् आयोजना, घर तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण कतिपय स्थानमा मानिसहरू सम्पर्कविहीन भएका छन् भने प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यसमेत जारी छ।
धुन्चेस्थित सैनिक क्याम्पबाट नेपाली सेनाको टोली प्रभावित क्षेत्रमा परिचालन भई खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकको सुरक्षित स्थानान्तरणमा सक्रिय छ। कठिन भौगोलिक अवस्था र बाढीले क्षतिग्रस्त सडक तथा पुलका कारण उद्धार कार्यमा चुनौती देखिए पनि सुरक्षाकर्मीले उपलब्ध स्रोतसाधन प्रयोग गरी अभियानलाई निरन्तरता दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, औषधि तथा आवश्यक सामग्री पुर्याउने र विस्थापित नागरिकको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बस्तीमा रहेका नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
यसैबीच, बाढीबाट भएको क्षतिको विवरण संकलन तथा खोजी कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ। प्रभावित क्षेत्रमा थप उद्धार टोली परिचालन गरी बेपत्ता तथा जोखिममा रहेका नागरिकको खोजीलाई तीव्र बनाइएको छ।
[तस्बिरहरू : धुन्चेस्थित सैनिक क्याम्पबाट उद्धार तथा राहतमा परिचालित नेपाली सेना र बाढी प्रभावित क्षेत्रका दृश्यहरू]








