काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सामुदायिक विद्यालयमा करार शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। नगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि शिक्षक बैंक निर्माण गरी योग्य शिक्षक नियुक्त गर्ने उद्देश्यले आवेदन खुलाएको हो।
नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विभिन्न विषयमा शिक्षक माग गरिएको छ।
प्राथमिक तहमा एकीकृत विषयका लागि २० जना शिक्षक आवश्यक रहेको छ। त्यस्तै, निम्न माध्यमिक तहमा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका लागि प्रत्येक विषयमा १० जनाका दरले ५० जना शिक्षक माग गरिएको छ।
माध्यमिक तहअन्तर्गत कक्षा ९ देखि १२ सम्म नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, ऐच्छिक प्रथम र ऐच्छिक द्वितीय विषयमा प्रत्येक विषयका लागि पाँच जनाका दरले ३५ जना शिक्षक आवश्यक रहेको सूचनामा उल्लेख छ। यसरी तीनवटै तहमा गरी कुल १०५ जना शिक्षकका लागि आवेदन माग गरिएको छ।
नगरपालिकाले प्राथमिक तहका लागि ५०० रुपैयाँ, निम्न माध्यमिक तहका लागि ७०० रुपैयाँ र माध्यमिक तहका लागि एक हजार रुपैयाँ दरखास्त दस्तुर निर्धारण गरेको छ।
आवेदन दिन इच्छुक नेपाली नागरिकले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। साथै, पासपोर्ट आकारका दुईवटा फोटो, हस्तलिखित सक्कल निवेदन र नगरपालिकाको राजस्व शाखामा दस्तुर बुझाएको रसिद पनि संलग्न गर्नुपर्नेछ।
नगरपालिकाले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १० बमोजिम योग्य उम्मेदवारबाट दरखास्त माग गरेको जनाएको छ। आवेदनको अन्तिम मिति, परीक्षा सञ्चालन हुने मिति र आवेदन बुझाउने प्रक्रियासम्बन्धी विस्तृत जानकारीका लागि नगरपालिकाले जारी गरेको आधिकारिक सूचना हेर्नुपर्नेछ।
