काठमाडौँ- शिक्षक सेवा आयोगले शिक्षकको विशेष बढुवासम्बन्धी प्रक्रिया सहज बनाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई अधिकार प्रयोग गरी आवश्यक काम अघि बढाउन आग्रह गरेको छ।
आयोगको सानोठिमी, भक्तपुरस्थित कार्यालयले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गर्दै शिक्षकको विशेष बढुवासम्बन्धी फाइल व्यवस्थापन र निर्णय प्रक्रियालाई सहज बनाउन निर्देशन दिएको हो।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३९ मा विशेष बढुवासम्बन्धी व्यवस्था रहेको छ। उक्त व्यवस्थाअनुसार अन्य जुनसुकै कुरा लेखिएको भए पनि कुनै तहको शिक्षक पदमा स्थायी नियुक्ति भई सोही तहको सोही श्रेणीबाट निवृत्तिभरण पाउने गरी अनिवार्य अवकाश पाउने शिक्षकलाई एक महिना अगावै सोही तहको माथिल्लो श्रेणीमा बढुवा गर्न आयोगले सिफारिस गर्ने व्यवस्था छ।
तर, विशेष बढुवासम्बन्धी कागजात पटक–पटक आयोगमै ल्याउनुपर्ने अवस्थाले सम्बन्धित शिक्षक र कार्यालयलाई प्रशासनिक झन्झट हुँदै आएको थियो। यही समस्या समाधान गर्न आयोगले जिल्ला तहबाटै आवश्यक प्रक्रिया अघि बढाउने व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको हो।
आयोगको पत्रअनुसार आवश्यक कागजात तथा प्रमाणको जाँचबुझ गरी शिक्षक विशेष बढुवाका लागि उपयुक्त देखिएमा सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइका एकाइ प्रमुखले अधिकार प्रयोग गर्न सक्नेछन्।
यसका लागि शिक्षा ऐन, २०२८ को संशोधनसहितको दफा ११(ज) अनुसार अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ। आयोगको २०८३ असोज १६ गतेको बैठकको निर्णयअनुसार सम्बन्धित एकाइलाई यस्तो अधिकार प्रयोग गर्न आग्रह गरिएको हो।
आयोगले यसअघि २०८३ असोज ७ गते गरेको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको पनि पत्रमा उल्लेख छ। पत्रमा मिति २०८३ असोज १६ गतेको निर्णयका आधारमा सम्बन्धित कार्यालयलाई काम गर्न अनुरोध गरिएको छ।
यस व्यवस्थाले विशेष बढुवाका लागि आवश्यक कागजात जाँचबुझ गर्ने र प्रक्रिया अघि बढाउने काम जिल्लास्तरबाटै सहज हुने अपेक्षा गरिएको छ। यसबाट शिक्षकलाई अनावश्यक रूपमा आयोग धाउनुपर्ने अवस्था कम हुनुका साथै प्रशासनिक काममा समेत सहजीकरण हुने देखिन्छ।
