झापा- विद्यालय तहबाटै विद्यार्थीमा लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम दिइने भएको छ।
विद्यार्थीमा देखिन सक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान गर्ने, आधारभूत परामर्श दिने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने विषयमा शिक्षकलाई तालिम दिन लागिएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले विद्यालय तहबाटै लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए। विद्यार्थीमा देखिने व्यवहारगत परिवर्तन तथा दुर्व्यसनका प्रारम्भिक लक्षण समयमै पहिचान गर्न सके आवश्यक परामर्श र सहयोग उपलब्ध गराउन सहज हुने उनको भनाइ छ।
उनले विद्यार्थीमा दुर्व्यसनको जोखिम देखिएमा शिक्षकले समयमै पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए। विद्यालयलाई दुर्व्यसन रोकथामको महत्वपूर्ण आधार बनाउने उद्देश्यले तालिम कार्यक्रम अघि बढाउन लागिएको हो।
जिल्ला प्रशासन कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रशासन वा सुरक्षा निकायको प्रयासबाट मात्रै सम्भव नहुने जनाएको छ। यसका लागि शिक्षक, स्थानीय तह, नगर प्रहरी, समुदाय र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको कार्यालयको भनाइ छ।
अभियानलाई पहिलो चरणमा २०० शिक्षकमा सीमित नराखी क्रमशः विस्तार गर्ने योजना बनाइएको छ। यसअन्तर्गत पुनःस्थापना केन्द्र (रिहाब सेन्टर) लगायतका संस्थालाई समेत तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्ने बताइन्। शिक्षक, विद्यार्थी र समुदायका सबै पक्ष सक्रिय भए मात्रै यसको रोकथाम प्रभावकारी हुने उनको भनाइ छ।
विद्यालयमै दुर्व्यसनको जोखिम पहिचान गर्ने र आवश्यक परे सम्बन्धित निकायसँग समन्वय गर्ने व्यवस्था प्रभावकारी बनाउन सके विद्यार्थीलाई समयमै सहयोग पुर्याउन सकिने अपेक्षा गरिएको छ।