काठमाडौँ- शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकका उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ। आयोगले लामो समयदेखि रोकिएको पुनरावलोकन प्रक्रिया अघि बढाउँदै विभिन्न जिल्ला र तहका शिक्षकको नतिजा सार्वजनिक गर्न थालेको हो।
बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्यांकनका आधारमा गरिने बढुवाको योग्यताक्रम सूची धमाधम प्रकाशन भइरहेको आयोगका प्रवक्ता परशुराम तिवारीले जानकारी दिए।
‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) को परिच्छेद १५ मा भएको व्यवस्थाअनुसार आयोगले प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा पुनरावलोकन गरिरहेको छ।
विभिन्न प्रदेशका शिक्षा हेर्ने मन्त्रालयअन्तर्गतका शिक्षा विकास निर्देशनालयबाट गरिएको कार्यसम्पादन मूल्यांकनमा चित्त नबुझाई परेका उजुरीमाथि अध्ययन तथा छानबिन गरेर आयोगले पुनरावलोकनको नतिजा प्रकाशन गर्दै आएको छ।
तर, आयोगका पदाधिकारी रिक्त भएपछि पछिल्लो छ महिनादेखि पुनरावलोकनको काम प्रभावित भएको थियो। नयाँ पदाधिकारी नियुक्त भएसँगै रोकिएको प्रक्रिया अघि बढेको हो।
आयोगले यही कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बु जिल्लाको पुनरावलोकन नतिजा सार्वजनिक गरेको छ। यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्की जिल्लाको नतिजा प्रकाशन गरिएको थियो।
नेपाल सरकारले गत भदौ २५ गते आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्सालसहितका पदाधिकारी नियुक्त गरेको थियो। यसअघि वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएपछि पद रिक्त भएको थियो।
पुनरावलोकन नतिजा प्रकाशनलाई तीव्रता दिइएसँगै बढुवाको प्रतीक्षामा रहेका शिक्षकले आफ्नो उजुरीको टुंगो लाग्ने र बढुवा प्रक्रिया अघि बढ्ने अपेक्षा गरेका छन्।