मुगु- मुगुको सोरु गाउँपालिका–९, कालै गाउँमा सञ्चालन गरिएको तीनमहिने सिकाइ सहजीकरण कक्षाले कमजोर सिकाइ स्तर भएका बालबालिकाको शैक्षिक सुधारमा सहयोग पुर्याएको छ। मष्टा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरिएको कक्षाले उनीहरूको पढाइप्रतिको रुचि बढाउनुका साथै सिकाइ निरन्तरतामा समेत सहयोग गरेको विद्यालयले जनाएको छ।
विद्यालयमा कक्षा ४ र ५ मा अध्ययनरत २० जना विद्यार्थी कक्षामा सहभागी भएका थिए। नियमित पठनपाठनका क्रममा सिकाइमा कठिनाइ भोगिरहेका बालबालिकालाई अतिरिक्त सहयोग उपलब्ध गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको हो।
विद्यालयका शिक्षक रामबहादुर शाहीका अनुसार कक्षामार्फत बालबालिकाको आधारभूत साक्षरता, गणितीय क्षमता र सामाजिक सीप विकासमा जोड दिइएको थियो। विद्यार्थीलाई नियमित रूपमा विद्यालय आउने बानीको विकास गराउनुका साथै उनीहरूको सिकाइ स्तर सुधार गर्ने लक्ष्य राखिएको उनले बताए।
दसैँ बिदाको समयमा समेत कक्षा सञ्चालन गरिएकाले विद्यार्थीको सिकाइ निरन्तरता कायम राख्न सहयोग पुगेको विद्यालयको भनाइ छ। लामो बिदाका कारण पढाइमा पर्ने असर कम गर्न र विद्यार्थीलाई सिकाइ गतिविधिमा सक्रिय राख्न यस्तो कक्षा उपयोगी बनेको बताइएको छ।
कक्षामा सहभागी विद्यार्थीको सिकाइमा सुधार देखिएको र उनीहरू पढाइप्रति थप उत्साहित भएको विद्यालयले जनाएको छ। विशेषगरी सिकाइमा पछि परेका बालबालिकालाई लक्षित गरी अतिरिक्त समय र सहयोग उपलब्ध गराउँदा उनीहरूलाई नियमित अध्ययनमा फर्काउन सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रमबाट विद्यार्थी मात्र नभई अभिभावकसमेत उत्साहित भएका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनसिंह लुवारले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव देखिएकाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
‘यो कक्षाबाट विद्यार्थी मात्रै नभई अभिभावक पनि खुसी भएका छन्। बालबालिका सिकाइप्रति उत्साहित देखिएका छन्। यस कार्यक्रमलाई निरन्तरता दिन सके अझ प्रभावकारी हुने थियो,’ उनले भने।
सिकाइमा कमजोर रहेका बालबालिकालाई समयमै अतिरिक्त सहयोग उपलब्ध गराउन सके उनीहरूको शैक्षिक उपलब्धि सुधार गर्न सकिने सरोकारवालाको अपेक्षा छ। यस्ता कार्यक्रमले विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन र विद्यालय छाड्ने जोखिम न्यूनीकरण गर्नसमेत सहयोग पुर्याउन सक्छन्।
किर्डाक नेपालको आयोजना तथा गुड नेबर्स इन्टरनेसनलको आर्थिक सहयोगमा तीनमहिने सिकाइ सहजीकरण कक्षा सञ्चालन गरिएको हो। ग्रामीण क्षेत्रका विद्यालयमा सिकाइमा पछि परेका बालबालिकालाई लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिन सके शैक्षिक गुणस्तर सुधारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।