धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै प्रशासनिक तथा शैक्षिक सुधार, डिजिटल प्रणालीको विस्तार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। स्थापनाको नौ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको अवसरमा विश्वविद्यालयले आगामी कार्यदिशासमेत सार्वजनिक गरेको हो।
कार्यक्रमको सुरुआतमा विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेले राष्ट्रिय झन्डा र विश्वविद्यालयको झन्डोत्तोलन गरेका थिए। उपकुलपति र रजिष्ट्रारद्वारा जारी संयुक्त शुभकामना सन्देशमा विश्वविद्यालयलाई गतिशील बनाउने विषयमा जोड दिइएको थियो।
विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखासम्बन्धी प्रणालीलाई एकीकृत डिजिटल सञ्जालमा आबद्ध गर्ने योजना अघि सारेको छ। साथै, ‘स्कुल अफ हेल्थ साइन्स’ को प्रभावकारी सञ्चालन, रोकिएका पूर्वाधार निर्माणलाई गति दिने र प्रयोगशालालाई प्रविधिमैत्री बनाउने एजेन्डा सार्वजनिक गरेको छ।
मधेश प्रदेशको आवश्यकता र श्रमबजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गरी नैतिकवान्, दक्ष र नवप्रवर्तनशील जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयको लक्ष्य छ। प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै पारदर्शी र चुस्त कार्यशैली अपनाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
समारोहमा विश्वविद्यालयका डिन, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सार्वजनिक गरिएका सुधारका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके विश्वविद्यालयको शैक्षिक गुणस्तर र संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।