काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विट्जरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्। नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीसँग भएको शिष्टाचार भेटवार्तामा मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षासँगै उच्च शिक्षामा समेत दुई देशबीचको सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय सम्बन्ध, हालैको बाढीपहिरोबाट भएको क्षति र शिक्षा क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्यबारे छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रको विकासमा स्विस सरकारले लामो समयदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि स्विस सहयोगले निरन्तरता पाउने र नयाँ क्षेत्रहरूमा सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।
मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभीईटी) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी गराए। उक्त ऐन पारित भएपछि प्राविधिक शिक्षाको नीतिगत सुधार, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पुनर्संरचना र प्राविधिक तथा व्यावसायिक शिक्षालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको उनले बताए।
प्राविधिक तथा व्यावसायिक शिक्षामा मात्र सीमित नभई उच्च शिक्षामा पनि नेपाल र स्विट्जरल्याण्डबीच सहकार्य विस्तार गर्न सकिने मन्त्री पोखरेलको भनाइ थियो। विशेषगरी शिक्षक तथा विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गरेर दुवै देशका शैक्षिक संस्थाबीच सम्बन्ध विस्तार गर्न सकिने सम्भावनाबारे उनले जोड दिए।
भेटमा राजदूत मेउलीले हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति स्विस सरकारका तर्फबाट दुःख व्यक्त गरे। उनले विपद्बाट प्रभावित नागरिकलाई राहत दिन तथा आपत्कालीन अवस्था र पुनर्स्थापनाका काममा सहयोग पुर्याउन स्विस सरकारले नेपाललाई उपलब्ध गराएको सहायता बारे पनि जानकारी गराए।
राजदूत मेउलीले नेपाल र स्विट्जरल्याण्डबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे। साथै, स्विस सरकारको विश्वव्यापी द्विपक्षीय सहयोग नीतिमा आएको परिवर्तनले नेपालमा भविष्यमा उपलब्ध हुने सहयोगका प्राथमिकता र स्वरूपमा पार्न सक्ने प्रभावबारे पनि उनले जानकारी गराए।
नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा नीतिगत सुधारको तयारी भइरहेका बेला भएको यस भेटवार्तालाई शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएको छ। विशेषगरी सीपमूलक शिक्षा, शिक्षक तथा विद्यार्थी आदानप्रदान र उच्च शिक्षाको गुणस्तर सुधारमा दुई देशबीच सहकार्य विस्तार हुन सके त्यसले नेपालको शैक्षिक विकासमा योगदान पुर्याउन सक्ने देखिन्छ।