काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का बेला सरकारलाई ‘थाक्यो’ भन्दै विश्राम लिने कुनै छुट नभएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटको यस घडीमा देशको नेतृत्वले आँसु झार्ने नभई जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए।
सरकार यही जिम्मेवारीबोधका साथ अहोरात्र खटिरहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले मन भक्कानिए पनि एक–आपसमा बिलौना गर्ने समय नभएको उल्लेख गर्दै विपत्तिविरुद्ध दृढताका साथ लड्नुको विकल्प नरहेको बताए।
उनले भने, ‘सोही दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ।’
प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले आफ्ना सपना बुनिरहेका बालबालिका, हाँसो–खुसीका साथ जीवन बिताइरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई क्षणभरमै खोसेर लगेको बताए।
उनले यस अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।
आफन्त अझै सम्पर्कमा नआएर बाटो हेरिरहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरिरहेको प्रधानमन्त्री शाहले बताए।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,’ उनले भने।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत, उपचार र सुरक्षित व्यवस्थापनका लागि सरकारले गरिरहेका कामबारे प्रतिनिधिसभालाई विस्तृत जानकारीसमेत गराए।
उनले विपद्को यस कठिन घडीमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राखिएको बताए।