काठमाडौं- रसुवामा आएको बाढीपछि सडक कटान र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित हुन थालेको छ।
राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडक पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा आइतबार पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकातर्फ आउँदै गरेका खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन बाटोमै रोकिएका छन्।
यसको प्रत्यक्ष असर उपत्यकाको ग्यास आपूर्तिमा परेको छ। ग्यास आपूर्ति प्रभावित भएपछि काठमाडौंका विभिन्न बिक्री केन्द्रमा सिलिन्डर लिन सर्वसाधारणको भिड बढ्न थालेको छ।
अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि उपभोक्ताको लामो लाइन लाग्दै आएको छ। घण्टौँसम्म लाइनमा बसे पनि ग्यास नपाउँदा खाली सिलिन्डर बोकेर घर फर्किनुपर्ने अवस्था आएको उपभोक्ताहरूले बताएका छन्।
रसुवामा आएको बाढीपछि पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान, पहिरो तथा लेदो थुप्रिँदा यसअघि नै यातायात आवागमन प्रभावित हुँदै आएको थियो। कृष्णभिरमा पहिरो खसेर राजमार्ग नै पूर्ण रूपमा बन्द भएपछि भने काठमाडौं उपत्यकाको आपूर्ति प्रणालीमा थप दबाब परेको हो।
विशेषगरी खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थ तथा दैनिक उपभोगका अत्यावश्यक सामग्री बोकेका सवारीसाधन उपत्यका प्रवेश गर्न नसके आगामी दिनमा आपूर्ति समस्या अझ बढ्न सक्ने देखिएको छ।
राजमार्ग सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पहिरो पन्छाउने तथा सडक खुलाउने प्रयास जारी राखेका छन्। सडक तत्काल सञ्चालनमा नआए उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्तिमा थप समस्या देखिन सक्ने सरोकारवालाहरूको भनाइ छ।





