पोखरा- भारतीय पर्यटक सवार भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा पोखरामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
शुक्रबार पोखरा महानगरपालिका–१८, गैरीचौतारा घुम्तीबाट लेकसाइडतर्फ आउँदै गरेको बीआर ०५ बीबी ६७५९ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए।
दुर्घटनामा भारतको बिहार प्रदेश, पूर्वी चम्पारण जिल्ला, रक्सौलका २६ वर्षीय नवदीपकुमार यादव र नामथर तथा वतन नखुलेका करिब ४०–४५ वर्षीय पुरुषको मृत्यु भएको हो। नवदीपको पहिचान आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोरसहितको टोलीले फेवातालको करिब २० फिट गहिराइबाट दुवैजनालाई अचेत अवस्थामा उद्धार गरेको थियो। उनीहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै शव अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनामा २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। उनीहरू दुवै रक्सौल, मोतीहारीका रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै डीएसपी बोगटीको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदामबाट १५ जना र सशस्त्र प्रहरी बल नम्बर २४ गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको कमान्डमा ६ जना गोताखोर तथा सातजना विपद् व्यवस्थापन विज्ञसहितको टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरीका जवान जनक बुढा र देवराज खनालले तालभित्रबाट मानिसको उद्धार गरेका थिए। उद्धारपछि क्रेनको सहयोगमा कारसमेत तालबाट निकालिएको छ।
कार वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।