नुवाकोट- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
भदौ १० गते चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। नदी आसपासका बस्ती, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ।
बाढीबाट प्रभावित नागरिकको अवस्था बुझ्न ओली शुक्रबार स्वयंसेवक टोलीसहित नुवाकोट पुगेका हुन्। उनले विदुर नगरपालिका–५ अन्तर्गतका बटार, ढुङ्गेलगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीको अवस्था तथा बाढीले पुर्याएको क्षतिबारे जानकारी लिएका छन्।
ओली नुवाकोट पुग्नुअघि एमालेले नुवाकोट र रसुवाका बाढीपीडितका लागि अत्यावश्यक खाद्यान्नसहितका राहत प्याकेट पार्टीका स्थानीय नेताहरूलाई हस्तान्तरण गरेको थियो। त्यसपछि ओली स्वयं राहत वितरण तथा उद्धारको अवस्थाबारे निरीक्षण गर्न प्रभावित क्षेत्रमा पुगेका हुन्।
एमालेले बाढीपीडितलाई सरकारी कोषमार्फत मात्र राहत पठाउनेभन्दा आफ्नै नेता, कार्यकर्ता र स्वयंसेवक परिचालन गरी प्रत्यक्ष रूपमा प्रभावितको घरदैलोमै राहत पुर्याउने नीति लिएको जनाएको छ। राहत वितरणमा प्रक्रियागत ढिलाइ नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको पार्टीको भनाइ छ।
यसका लागि एमालेले ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ गठन गरी राहत, उद्धार र पुनर्स्थापनाको काम अघि बढाएको छ। पार्टीले यसअघि बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको थियो।
एमालेका अनुसार नुवाकोटमा नेसनल भोलिन्टियर फोर्समार्फत करिब ३ सय स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकहरूले बाढी प्रभावितलाई खाना खुवाउने, राहत सामग्री वितरण गर्ने तथा प्रभावित क्षेत्रमा सरसफाइमा सहयोग गरिरहेका छन्।
ओलीसँगै एमालेका अन्य नेताहरू पनि निरीक्षणमा सहभागी छन्। टोलीले प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्नुका साथै राहत तथा उद्धारमा स्वयंसेवकहरूले गरिरहेको कामको समेत अनुगमन गर्ने जनाएको छ।







