काठमाडौं- बाढीपहिरोका कारण आफन्त गुमाएका, बेपत्ता भएका तथा विस्थापित भएका नागरिकमा तनाव, चिन्ता, उदासी र रुने समस्या देखिन थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म ४ हजारभन्दा बढी बाढी प्रभावितले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग लिएका छन्।
मन्त्रालयका अनुसार नुवाकोटका विभिन्न १३ वटा होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रमा ६३ जना मानसिक स्वास्थ्यसम्बन्धी जनशक्ति परिचालन गरिएको छ। विशेषगरी आफन्त गुमाएका वा सम्पर्कविहीन भएका व्यक्तिमा मानसिक तनाव र भावनात्मक समस्या बढी देखिएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित अर्को जिल्ला रसुवाका चारवटा शिविरमा १४ जना परामर्शकर्ता तथा स्वयंसेवक परिचालन गरी मनोसामाजिक परामर्श सेवा दिइएको छ। ती शिविरमा मात्रै ८३ जनाभन्दा बढीले सेवा लिइसकेका छन्।
त्यस्तै, बाढीमा परी मृत्यु वा बेपत्ता भएका व्यक्तिका आफन्त तथा साथीभाइलाई चितवनको भरतपुर, नवलपुर र सिन्धुपाल्चोकमा समेत मानसिक स्वास्थ्य सेवा प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
रसुवाको टिमुरेलगायत क्षेत्रबाट उद्धार गरी काठमाडौंको पहेँलो गुम्बामा राखिएका प्रभावितका लागि १२ जना मनोसामाजिक परामर्शकर्ता खटाइएको छ। त्यहाँ मात्रै ६० जना बालबालिका तथा किशोरीले मनोसामाजिक परामर्श लिएका छन्। किशोरी तथा अन्य प्रभावित समूहका लागि समूहगत परामर्शसमेत सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
सरकारले बाढी प्रभावितका लागि अनलाइन मनोचिकित्सकीय परामर्श सेवा समेत सञ्चालन गरिरहेको छ। चिन्ता, तनाव, शोक, आघात तथा अन्य भावनात्मक समस्याबारे गोपनीयता कायम राख्दै अनलाइन परामर्श दिइँदै आएको मन्त्रालयको भनाइ छ।
हराएका आफन्तको खोजीका लागि आउने व्यक्तिलाई त्रिवि शिक्षण अस्पतालमा समेत मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको छ।
मन्त्रालयले बाढीका कारण निराशा, तनाव वा अन्य भावनात्मक उतारचढाव महसुस गरिरहेका व्यक्तिलाई आवश्यक परे ११६६ नम्बरमा जुनसुकै बेला फोन गर्न आग्रह गरेको छ।
मन्त्रालयले व्यक्तिले व्यक्त गरेका कुरा गोप्य राखिने बताउँदै भनेको छ, ‘एउटा फोनले मन हलुका हुन सक्छ, आशा फर्किन सक्छ, जीवन जोगिन सक्छ।’