काठमाडौं- उद्योगमन्त्री गौरी यादवले बाढीका कारण प्रभावित बनेको ग्यास आपूर्ति सहज बनाउन होटल व्यवसायीलाई सरकारसँग सहकार्य गर्न आग्रह गर्नुभएको छ।
कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा पछिल्ला केही दिनदेखि ग्यास आपूर्ति प्रभावित भएको हो। मन्त्रालयमा होटल व्यवसायीसँग भएको छलफलमा मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गर्नुभयो।
आपूर्ति सहज बनाउन होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवले आग्रह गर्नुभयो। त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण सरकारले गर्ने उहाँको भनाइ छ।
मन्त्री यादवका अनुसार घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै ग्यास सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेका छन्। होटलमा प्रयोग हुने व्यावसायिक ग्यास सिलिन्डरको आकार तथा तौल बढाउने प्रस्तावसमेत अघि सारिएको छ।
होटल व्यवसाय बन्द गराउने सरकारको कुनै उद्देश्य नरहेको स्पष्ट पार्दै मन्त्री यादवले पर्यटन तथा अर्थतन्त्रलाई चलायमान बनाउन होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। तर, वर्तमान संकटमा उपभोक्तालाई प्राथमिकतामा राखेर आपूर्ति व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ।
नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यासको आयात तथा ढुवानी सहज बनाउन होटल व्यवसायीलाई समेत आवश्यक सवारीसाधनको व्यवस्था गरी ढुवानीमा सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले होटल प्रयोजनका लागि प्रयोग हुने सिलिन्डरको तौल बढाउने विषयमा समेत छलफल आवश्यक रहेको बताउनुभयो।
शाहले भारतबाट आयात हुने ग्यासमा निर्भरता घटाउन होटल क्षेत्रमा विद्युतीय चुलोको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो।
छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गर्नुभयो। होटल व्यवसायीहरू ग्यासको विकल्पका रूपमा विद्युतीय चुलो प्रयोग गर्न तयार भए पनि होटललाई उद्योगसरह सहुलियत दरमा विद्युत् उपलब्ध गराउनुपर्ने उहाँको माग छ।
होटल प्रयोजनका लागि १९ केजीको ग्यास सिलिन्डर बनाउने विषयमा व्यवस्थापन पक्षलाई व्यवस्थित बनाएर अघि बढे आफूहरूको सहयोग रहने अध्यक्ष शाहले बताउनुभयो।
सरकारले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि छुट्टाछुट्टै सिलिन्डरको व्यवस्था गर्दै आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।



