काठमाडौं- बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेको भन्दै सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
बाढी प्रभावित क्षेत्रमा दूषित पानी तथा कमजोर सरसफाइका कारण हैजा, झाडापखाला लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विस्तार गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री तथा आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।
मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाउने, रोगको निगरानी बढाउने र स्वास्थ्यकर्मी परिचालन गर्ने कामलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ।
सुरक्षित खानेपानी र सरसफाइमा जोड
बाढीका कारण खानेपानीका मुहान, पाइपलाइन तथा वितरण प्रणालीमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको उपलब्धता चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा दूषित पानीको प्रयोगबाट हैजा तथा अन्य पानीजन्य रोग फैलिन सक्ने भएकाले खानेपानीको शुद्धीकरण, सरसफाइ र जनचेतना अभिवृद्धिलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ।
प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको व्यवस्था, सरसफाइमा ध्यान दिनुका साथै सम्भावित बिरामीको समयमै पहिचान र उपचारका लागि स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राखिएको छ।
रोग निगरानी र स्वास्थ्यकर्मी परिचालन
मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा रोगको अवस्था बुझ्न रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ। सम्भावित हैजा तथा अन्य पानीजन्य रोगका बिरामीको शीघ्र पहिचान गरी उपचारको व्यवस्था मिलाउन स्वास्थ्यकर्मी परिचालन गर्ने कामसमेत अघि बढाइएको छ।
स्वास्थ्यकर्मीलाई प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी जानकारी दिन, सुरक्षित पानीको प्रयोग तथा व्यक्तिगत सरसफाइका विषयमा जनचेतना फैलाउन र सम्भावित संक्रमणको सूचना तत्काल सम्बन्धित निकायमा पुर्याउन परिचालन गरिने मन्त्रालयले जनाएको छ।
रोकथाम, पहिचान र उपचारलाई प्राथमिकता
बाढीपछिको अवस्थामा रोग फैलिन नदिन रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई मुख्य प्राथमिकता दिइएको छ। सरकारले प्रभावित क्षेत्रमा आवश्यक खोप, औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्ने र अवस्था हेरेर थप स्वास्थ्य सहायता परिचालन गर्ने जनाएको छ।
यसैबीच, प्रभावित नागरिकलाई सुरक्षित खानेपानी प्रयोग गर्न, व्यक्तिगत तथा वरपरको सरसफाइमा विशेष ध्यान दिन र हैजा वा झाडापखाला जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम न्यूनीकरणका लागि सरकार, स्वास्थ्य निकाय, नेपाली सेना तथा अन्तर्राष्ट्रिय साझेदार संस्थाबीच समन्वय गरेर काम भइरहेको मन्त्रालयले जनाएको छ।
