काठमाडौँ- डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन (भारत) र बतास फाउन्डेसन (नेपाल) ले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित १०० भन्दा बढी बालबालिकाको उच्च शिक्षाका लागि सहयोग गर्ने भएका छन्। हालै रसुवागढी नाकासहित विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका बालबालिकाको दीर्घकालीन भविष्य सुनिश्चित गर्ने उद्देश्यले दुवै संस्थाले मानवीय सहकार्य अघि बढाएका हुन् ।
सहकार्यअन्तर्गत विशेषगरी विपद्का कारण अभिभावक गुमाएका बालबालिकालाई शिक्षालाई निरन्तरता दिन आवश्यक आर्थिक तथा शैक्षिक सहयोग उपलब्ध गराइनेछ । आर्थिक अभावकै कारण प्रभावित बालबालिका विद्यालय तथा उच्च शिक्षा छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
दुवै संस्थाले तत्कालीन राहत तथा उद्धारसँगै विपद्पछि प्रभावित परिवारले सामना गर्नुपर्ने दीर्घकालीन समस्याको समाधानमा शिक्षालाई महत्वपूर्ण आधारका रूपमा लिएका छन्। शिक्षामार्फत बालबालिकाको भविष्य सुरक्षित गर्दै प्रभावित समुदायको पुनर्स्थापनामा योगदान पुर्याउने उनीहरूको लक्ष्य छ ।
बतास फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपद् राहत तथा समुदाय सशक्तीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य र विपद् व्यवस्थापनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
दुवै संस्थाले यो सहकार्यलाई नेपाल र भारतबीचको ऐतिहासिक मित्रता, सहकार्य र साझा मानवीय भावनाको उदाहरणका रूपमा लिएका छन् । विपद्बाट प्रभावित बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्दै उनीहरूलाई आत्मनिर्भर र सक्षम भविष्यतर्फ अघि बढाउन यो पहल महत्वपूर्ण हुने विश्वास गरिएको छ ।