काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ। शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको हो। मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले लक्षित वर्गको रुचि, क्षमता, सीप तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्तिपथ छनोटमा सहयोग गर्ने व्यवस्था गरेको छ।
निर्देशिकाअनुसार विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति सेवाका प्रमुख लक्षित वर्ग हुनेछन्। उनीहरूको क्षमता र रुचि मूल्याङ्कन गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटका लागि मार्गनिर्देशन तथा परामर्श प्रदान गरिनेछ।
यसका लागि साइकोमेट्रिक परीक्षणलगायत विभिन्न विधि तथा उपकरण प्रयोग गरी ‘करिअर लेखाजोखा’ गरिनेछ। साधारण शिक्षा वा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। त्यस्तै, विद्यार्थी तथा युवालाई वृत्ति योजना, रोजगारी र उद्यमशीलतासम्बन्धी मार्गनिर्देशन दिइनेछ। कामको खोजीमा रहेका युवा, विद्यार्थी तथा कामदारको शैक्षिक, सीप तथा व्यक्तिगत विवरण संकलन गरी प्रोफाइल तयार गर्ने, विश्लेषण गर्ने तथा अभिलेख राख्ने व्यवस्था गरिएको छ।
श्रमबजार सूचना प्रणालीका आधारमा शैक्षिक संस्था, पेसा र वृत्तिसम्बन्धी जानकारी अद्यावधिक गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमता मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरबारे लक्षित परामर्शसमेत प्रदान गरिनेछ। श्रमबजारमा प्रवेश गर्न आवश्यक करिअर व्यवस्थापन, व्यक्तिगत विवरण तयारी तथा अन्तर्वार्तासम्बन्धी सीप विकासका लागि अभिमुखीकरण, तालिम तथा अभ्यास कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।
विद्यालयदेखि श्रमबजारसम्मको संक्रमण सहज बनाउन औद्योगिक अवलोकन, उद्यमशीलता विकास, व्यावसायिक योजना तयारी, इन्टर्नसिप तथा ‘जब स्याडोइ’ जस्ता कार्यक्रमसमेत सञ्चालन गरिनेछ। वृत्ति, सीप, रोजगारी तथा जीवनपर्यन्त सिकाइसम्बन्धी सूचना तथा सामग्री डिजिटल माध्यमबाट उपलब्ध गराई लक्षित वर्गको पहुँच विस्तार गर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ।
सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति गठन गरिनेछ। समितिमा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) तथा मन्त्रालयका सम्बन्धित पदाधिकारीसँगै एक जना विज्ञ रहने व्यवस्था छ।
सेवालाई प्रभावकारी बनाउन शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ स्थापना गरिनेछ। उक्त एकाइले व्यक्तिको रुचि, क्षमता र व्यक्तित्वका आधारमा उपयुक्त वृत्तिक्षेत्र तथा वृत्तिपथ पहिचानमा सहयोग गर्नेछ। निर्देशिकाले निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट प्रदान गरिने वृत्ति मार्गनिर्देशन र परामर्शसम्बन्धी गतिविधिलाई सहजीकरण, व्यवस्थापन तथा नियमन गर्ने व्यवस्था पनि गरेको छ। साथै, सेवा प्रदायक र सेवाग्राहीबीच अनुभव आदानप्रदानका लागि आवश्यक प्लेटफर्म विकास गरिनेछ।
स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई समेत उनीहरूले अध्ययन गरेको विषय, रुचिको क्षेत्र, व्यक्तिगत क्षमता तथा दक्षताको मूल्याङ्कनका आधारमा रोजगारी र स्वरोजगारीका अवसर तथा सम्भावनाबारे मार्गनिर्देशन तथा परामर्श प्रदान गरिने मन्त्रालयले जनाएको छ।