काठमाडौँ - स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रका पीडित परिवारलाई करिब १३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। नुवाकोट पुगेको फेकनको टोलीले बाढी प्रभावित बस्ती तथा विभिन्न होल्डिङ सेन्टरमा रहेका आश्रित परिवारलाई खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री वितरण गरेको हो।
बाढीका कारण घर, सम्पत्ति र दैनिकी गुमाएका परिवारलाई लक्षित गर्दै फेकनले भान्सामा आवश्यक खाद्यान्न तथा सामग्रीसँगै महिलाका लागि कपडा र स्यानिटरी प्याड, बालबालिकाका कपडा, लिटोको पिठो, ल्याक्टोजेन मिल्क, चकलेटलगायत सामग्री उपलब्ध गराएको जनाएको छ।
फेकनका कोषाध्यक्ष तथा राहत वितरण कार्यक्रम संयोजक गौतम पुडासैनीले राहत वितरणका क्रममा प्रभावित परिवार र विशेषगरी बालबालिकाको अवस्था प्रत्यक्ष देख्दा टोलीका सदस्य भावुक बनेको बताए। विस्थापित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री पहिचान गरी राहत प्याकेज तयार गरिएको उनको भनाइ छ।
राहत वितरणका क्रममा नेपालमा कार्यरत तथा बाढीका कारण विस्थापित भएका करिब ५० जना भारतीय नागरिकलाई समेत फेकनले सहयोग गरेको थियो। विपद्का बेला पीडितको पहिचान देश, जात वा सीमाका आधारमा नभई मानवीय आधारमा हुनुपर्ने सन्देश अभियानले दिएको फेकनले जनाएको छ।
राहत वितरणपछि फेकनका महासचिव दिपेन्द्र पोखरेलले बाढीले धेरै परिवारका घर र सम्पत्ति मात्रै नभई वर्षौँदेखि जोडिएका सपना समेत बगाएको बताए। तत्कालीन आवश्यकतामा राहतले केही सहयोग पुर्याए पनि विस्थापित परिवार र बालबालिका कहिले पुनः आफ्नै घरआँगनमा फर्किन पाउने भन्ने प्रश्न अझै चुनौतीका रूपमा रहेको उनको भनाइ छ। अभियानका क्रममा मच्छिन्द्र नरसिंह प्याकुरेल, राजेन्द्र न्यौपाने, नारायण नेपाल र दिनेश घिमिरेलगायतले स्थानीय स्तरमा समन्वय तथा सहजीकरण गरेको फेकनले जनाएको छ। अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा श्रम, समय, आर्थिक तथा मानवीय सहयोग गर्ने सबैप्रति संघले आभार व्यक्त गरेको छ।
फेकन अध्यक्ष उमेश कुश्वारले विपद्को समयमा राहत सामग्री वितरण गर्नुका साथै पीडामा रहेका परिवारलाई आफूहरू एक्लो नभएको अनुभूति गराउनु अभियानको मुख्य उद्देश्य रहेको बताए। पीडित नागरिकको साथमा उभिनु पनि मानवीय दायित्व भएको उनको भनाइ छ। राहत वितरणका लागि फेकनको वर्तमान कार्यसमितिका पदाधिकारी, सदस्य तथा शुभचिन्तकसँगै संस्थापक अध्यक्ष मानबहादुर राई र निवर्तमान अध्यक्ष राजु निरौलालगायत नुवाकोट पुगेका थिए।
फेकनले विपद्का कारण ठूलो क्षति भए पनि संकटको समयमा विभिन्न क्षेत्रबाट प्राप्त सहयोग र सहकार्यले मानवता अझै जीवित रहेको अनुभूति भएको जनाएको छ। पीडाको कुनै सीमा नहुने भएकाले विपद्का बेला मानवीय सहयोग नै पीडितका लागि सबैभन्दा ठूलो आधार बन्ने सन्देशसहित संघले राहत अभियानलाई निरन्तरता दिएको जनाएको छ।