काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनले उठाएका विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानका मुद्दाबाट आफूहरू एक इन्च पनि विचलित नहुने बताएका छन् ।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको स्मरण गरेका छन् ।
उनले जेन–जी आन्दोलनलाई परम्परागत राजनीतिक शैलीप्रतिको युवापुस्ताको स्पष्ट **‘अस्वीकृति पत्र’**का रूपमा व्याख्या गरेका छन् । डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको तथा आफ्नै देशभित्र भविष्य खोजिरहेको युवा पुस्ताले कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनमार्फत दिएको उनको भनाइ छ ।
लामिछानेले आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वतःस्फूर्त रूपमा भएको दाबी गरेका छन् । त्यसैले कुनै पनि राजनीतिक दल वा नेताले आन्दोलनलाई आफ्नो संकुचित राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाउन नहुने उनले बताएका छन् ।
‘कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ ।
उनले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको उचित उपचार र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने बताएका छन् ।
लामिछानेले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक दलका कामको निरन्तर खबरदारी र निर्मम समीक्षा गर्नसमेत आग्रह गरेका छन् । नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्ने उनको भनाइ छ ।
‘जागरणको त्यो आँधीले गरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मागबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ लामिछानेले विज्ञप्तिमा उल्लेख गरेका छन्
विज्ञप्ति

