काठमाडौँ- गत भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा सरकारले घोषणा गरेको ‘जेन–जी शहीद दिवस’ का अवसरमा अमेरिका, बेलायत, जापानलगायत विभिन्न देशका नेपालस्थित दूतावासले शुभकामना तथा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले जेन–जी शहीद दिवसका अवसरमा शुभकामना दिँदै नेपाली युवाको समृद्ध र आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गरेको छ ।
दूतावासले भनेको छ, ‘नेपालका युवाको समृद्ध एवं आशाजनक भविष्यको आकांक्षाप्रति सम्मान व्यक्त गर्दछौँ।’
त्यस्तै, बेलायती दूतावासले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्त तथा परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको पक्षमा अभिव्यक्ति दिने अमेरिका र बेलायतसहितका मुलुकमध्ये जापानको नेपालस्थित दूतावासले पनि शहीद दिवसका अवसरमा शुभकामना दिएको छ । जापानी दूतावासले नेपाली युवापुस्ताका आशा र आकांक्षाहरू बिर्सिइने छैनन् भन्ने सन्देश दिएको छ ।
तर, गत वर्षको जेन–जी आन्दोलनका क्रममा राजनीतिक रूपमा सक्रिय अभिव्यक्ति नदिएका भारत, चीन र रुसलगायतका देशका नेपालस्थित दूतावास भने यस अवसरमा मौन देखिएका छन् ।
समाचार तयार पार्दासम्म भारतीय दूतावासले सामाजिक सञ्जाल तथा सार्वजनिक अभिव्यक्तिमा हालैको बाढीपहिरोका विषयलाई मात्र उल्लेख गरेको छ । चिनियाँ दूतावासले पनि जेन–जी शहीद दिवसबारे कुनै सार्वजनिक धारणा व्यक्त गरेको छैन । रसुवाको भोटेकोसी बाढीमा उद्धार तथा राहतका विषयमा सक्रिय देखिएको रुसी दूतावासबाट पनि यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
गत वर्ष जेन–जी आन्दोलनका क्रममा भारतीय तथा रुसी सञ्चारमाध्यमका केही रिपोर्टहरूले आन्दोलनलाई ‘कलर रिभोलुसन’सँग जोडेर चर्चा गरेका थिए भने चिनियाँ सञ्चारमाध्यम तुलनात्मक रूपमा कम मुखर देखिएका थिए । त्यसको विपरीत अमेरिका, बेलायत, जापानलगायत पश्चिमी मुलुकका सञ्चारमाध्यमले आन्दोलनलाई विभिन्न कोणबाट समाचार तथा विश्लेषण गर्दै कतिपयले ‘क्रान्ति’को संज्ञासमेत दिएका थिए ।
यसपटक जेन–जी शहीद दिवसका अवसरमा विदेशी दूतावासहरूको सार्वजनिक अभिव्यक्तिले भने गत वर्षको आन्दोलनप्रतिको उनीहरूको फरक–फरक कूटनीतिक दृष्टिकोण पुनः सतहमा ल्याएको देखिएको छ ।