काठमाडौँ- पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि सबैले आ–आफ्नो ठाउँबाट इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गर्नुपर्ने बताएकी छन् ।
जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले सुशासन, जवाफदेहिता, पारदर्शिता र उज्ज्वल भविष्यको मागसहित सडक तथा डिजिटल सञ्जालमार्फत आवाज उठाउँदा ज्यान गुमाएका युवालाई स्मरण गरेकी हुन् ।
उनले जेन–जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिलाई देशको इतिहासकै पीडादायी घटनाका रूपमा उल्लेख गरेकी छन् । आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनुका साथै कतिपयले जीवनभर अपाङ्गताको पीडा व्यहोर्नुपर्ने गरी घाइते भएको उनले बताएकी छन् ।
कार्कीले आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै राष्ट्रिय सम्पदा र धरोहरसमेत गुमेको उल्लेख गरेकी छन् । यस्तो घटना फेरि दोहोरिन नहुनेमा उनले जोड दिएकी छन् ।
उनका अनुसार जेन–जी आन्दोलनले सुशासनबिना संसद्को दुईतिहाइ बहुमतले समेत राजनीतिक स्थायित्व सुनिश्चित गर्न नसक्ने स्पष्ट सन्देश राज्य र राजनीतिक नेतृत्वलाई दिएको छ ।
‘राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ,’ कार्कीले भनेकी छन्, ‘त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्न सकोस् भन्ने अपेक्षा गर्छु।’
कार्कीले जेन–जी आन्दोलनमा शहीद भएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उनले जेन–जी आन्दोलनबाट भएको ठूलो जनधनको क्षतिको एक वर्ष नपुग्दै मुलुक फेरि भोटेकोशी बाढीको पीडादायी अवस्थाबाट गुज्रिरहेको उल्लेख गरेकी छन् ।
बाढीबाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा सबैलाई धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन आग्रह गरेकी छन् । एकअर्काको सहारा बन्दै पीडामा मल्हम लगाउन र ऐक्यबद्ध भएर विपद्को सामना गर्नसमेत उनले सबैसँग अपिल गरेकी छन् ।