काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमाहरूलाई भावुक सम्बोधन गर्दै उनीहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद सुनारले आन्दोलनमा ज्यान गुमाएका युवाका आमाप्रति सम्मान व्यक्त गर्दै उनीहरूलाई ‘शहीद जन्माउने आमा’का रूपमा स्मरण गरे।
उनले भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो । तिम्रो गर्भमा नायकले बास गरेको हो । आफ्नो गर्भलाई धन्यवाद भन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । स्याबास आमा ! धन्यवाद आमा ! जसले शहीद जन्माउनुभयो।’
सुनारले शहीदका आमाहरूको त्याग र बलिदानप्रति सम्मान व्यक्त गर्दै छोराहरूको बलिदानले देशमा परिवर्तनको बाटो खोलेको दाबी गरे। ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,’ उनले भने।
आन्दोलनका क्रममा घाइते भएका युवाहरूको अवस्थाप्रति पनि उनले भावुकता व्यक्त गरे। उनले आन्दोलनमा खुट्टा गुमाएका तथा गोली लागेर दृष्टि गुमाएका युवाको बलिदानका कारण देशले परिवर्तनको बाटो पाएको बताए।
‘तिमीले खुट्टा टेक्न पाएनौ साथी, त्यस कारण यो देशले खुट्टा टेक्न पायो । तिमीले आँखा देख्न पाएनौ गोली खाएर, त्यस कारण यो देशले संसार देख्न पायो,’ सुनारले भने।
उनले रास्वपा नेतृत्वको सरकारले जेन–जी आन्दोलनका क्रममा उठेका माग सम्बोधन गर्ने दाबी गर्दै शहीद परिवार, घाइते तथा पीडितको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता व्यक्त गरे।
‘यो सरकारले माग सम्बोधन गर्छ । यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ । प्रत्येक आमाहरूको जिम्मा लिन हामी तयार भएर आएका छौँ,’ उनले भने।
सांसद सुनारले भ्रष्टाचारमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने चेतावनीसमेत दिए। पूर्व वा वर्तमान जुनसुकै पदमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको प्रमाणित भए सरकारले कारबाही गर्ने उनको भनाइ छ।
‘जसले एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालोमा समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाब हुनेछ । एक–एक गरेर हिसाब हुनेछ । खनखनी गनेर हिसाब हुनेछ,’ उनले भने।
सुनारले जेन–जी आन्दोलनमा भएको बलिदान र उठाइएका मुद्दालाई राज्यले गम्भीर रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिँदै परिवर्तनलाई संस्थागत गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।