काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आफूहरू राजनीति सिक्न नभई नयाँ राजनीतिक संस्कार र सेवाको राजनीति सिकाउन आएको बताएका छन्। जेनजी दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले पुरानो राजनीतिक शैली परिवर्तन गर्ने दाबी गरे।
‘हामी राजनीति सिकाउन आएका हौं, सिक्न होइन,’ उनले भने, ‘तपाईंहरूको राजनीतिले जनतालाई राज गर्न सिकायो। यो युवा पुस्ताको सरकार हो, हामीले सेवा गर्न सिकाउँछौं। यही हो राजनीति।’
गुरुङले आफूहरू राजनीतिक संस्कार परिवर्तन गर्न आएको बताए। उनले अब देशमा नागरिकमाथि गोली चलाउने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे।
‘अर्को गोली चल्न र चलाउनलाई अब यो देशमा कसैले हिम्मत गर्न सक्दैन। जबसम्म मेरो ज्यानमा प्राण छ, कसैलाई दुःख हुन दिन्न,’ उनले भने।
‘हामी टीका लगाएर आएको होइनौं’
गृहमन्त्री गुरुङले आफूहरू कुनै राजनीतिक कृपाबाट नभई जनमत लिएर सरकारमा आएको दाबी गरे।
‘हामी टीका लगाएर आएको होइन। दुई तिहाइ जितेर आएका हौं,’ उनले भने, ‘तपाईंहरू टिभीमा हेर्नुहोला, देश विकास कसरी गर्छौं।’
उनले देशको भविष्य नयाँ पुस्ताले आफैं निर्माण गर्ने बताए।
‘हाम्रो भविष्य हामी आफैं कोर्नेछौं। अरूलाई कोर्न दिने छैनौं। यो हाम्रो पुस्ता हो। आफ्नो इतिहास हामी आफैं कोर्नेछौं,’ उनले भने।
‘मन्त्रीको कुर्सी सत्ता होइन, जिम्मेवारी हो’
गुरुङले मन्त्रीको कुर्सीलाई आफूले सत्ता र शक्तिका रूपमा नलिएको बताए। आफूलाई प्राप्त पदभन्दा जनताले दिएको जिम्मेवारी महत्वपूर्ण रहेको उनको भनाइ थियो।
‘मन्त्रीको कुर्सी मेरो लागि १५ हजारको मात्र हो। मलाई काँधमा जिम्मेवारी दिनुभएको छ। त्यो जिम्मेवारी पूरा गर्नेछु,’ उनले भने।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै उनले मन्त्रीको कुर्सीमा आफूलाई नभई आन्दोलनमा ज्यान गुमाएका युवाका छोराछोरीलाई देख्न आग्रह गरे।
‘जसरी तपाईंका छोरा-छोरी काँधमा उठाएर लगेका थियौं। उहाँहरूको आत्मा मैभित्र छ भनेर सोच्नुस्,’ उनले भने, ‘त्यो कुर्सीमा मलाई नदेख्नुहोला। तपाईंकै छोरा-छोरीलाई देख्नुहोला।’
‘एक रुपैयाँ भ्रष्टाचार थाहा पाएँ भने लड्छु’
गृहमन्त्री गुरुङले आफूमा सत्ता र शक्तिको घमण्ड नआउने दाबी गरे। आफू युवा पुस्ताको प्रतिविम्ब भएको बताउँदै उनले भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिए।
‘इमान्दारीका साथ छाती चौडा राखेर भन्न चाहन्छु, एक रुपैयाँ भ्रष्टाचार गरेको मात्र थाहा पाएँ भने गृहमन्त्री तीन करोड जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने।
उनले विगतका नेताहरूका भाषण र त्यसको परिणाम जनताले देखिसकेको भन्दै आफ्नो सरकार परम्परागत शैलीमा नचल्ने बताए।
‘नेताहरूको चिल्लो-चिल्लो भाषण हाम्रा आमा-बुबाले सुनेका थिए, देखेका थिए। त्यसको रिजल्ट पनि हामीले देखेका छौं,’ उनले भने, ‘हामी पाँच बजेसम्ममात्र होइनौं। घडीको टिकटिक हेरेरमात्र बस्दैनौं।’
सरकार ढाल्ने प्रयास भइरहेको दाबी
गुरुङले सरकार ढाल्न विभिन्न प्रयास भइरहेको दाबी गरेका छन्। सरकारविरुद्ध भइरहेका गतिविधिलाई तीन करोड नेपाली जनताले हेरिरहेको उनको भनाइ थियो।
‘शरीर र लासमाथि राजनीति गरिरहेको तीन करोड जनताले हेरिराखेका छन्। उनीहरूले तिमीहरूलाई कहिल्यै माफ गर्नेवाला छैनन्,’ उनले भने।
रवि लामिछानेको विश्वास कायम राख्ने प्रतिबद्धता
गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई गरेको विश्वासलाई निरन्तर कायम राख्ने बताएका छन्।
‘मेरो पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ—सुशासन के हुन्छ भनेर। त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ उनले भने।
उनले आफूले पाएको जिम्मेवारीलाई व्यक्तिगत पद वा शक्तिका रूपमा नभई जनताको विश्वास पूरा गर्ने अवसरका रूपमा लिएको बताए।
‘योभन्दा ह्यान्सम हामी हुन सक्दैनौं’
आफ्नो बोली, भाषण र पहिरनलाई लिएर हुने आलोचनाप्रति पनि गृहमन्त्री गुरुङले व्यंग्य गरे।
‘कतिपयले बोली मिठो र चिप्लो भएन भन्छन्। भाषण मिलेन भन्छन्। लुगा मिलेन भनेर भन्छन्,’ उनले भने, ‘योभन्दा ह्यान्सम हामी हुन सक्दैनौं।’
जेनजी दिवसका अवसरमा गरिएको उनको सम्बोधनमा सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, नयाँ राजनीतिक संस्कार, युवा पुस्ताको भूमिका, सहिदहरूको सम्मान र नागरिक सुरक्षाको प्रतिबद्धता मुख्य विषयका रूपमा आएका थिए।