काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेन–जी आन्दोलनका शहीद तथा घाइतेका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गौतमले सरकारप्रति भरोसा राख्न आग्रह गरिन्। उनले आन्दोलनका माग र शहीद तथा घाइतेका विषयमा सरकारका तर्फबाट निरन्तर छलफल भइरहेको जानकारी दिइन्।
मन्त्री गौतमले लोकतन्त्रमा समेत गत भदौ २३ गते नागरिकमाथि गोली चलाइएको उल्लेख गर्दै अब कुनै पनि नागरिकले त्यस्तो नियति भोग्न नपर्ने बताइन्। उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबै पक्षलाई एक ठाउँमा उभिएर एकअर्कालाई सहयोग र हौसला प्रदान गर्न आग्रह गरिन्।
जेन–जी आन्दोलनभित्रै विभाजन र दोषारोपण बढ्दै गए त्यसबाट आन्दोलनका विरोधीहरूले फाइदा लिन सक्ने उनको भनाइ थियो। आन्दोलनपछि भएको निर्वाचनमार्फत नेपाली जनताले आफ्नो नेतृत्व चयन गरिसकेको भन्दै उनले वर्तमान सरकार जनताको आवाज सुन्न र माग सम्बोधन गर्न तयार रहेको बताइन्।
सरकार गठन भएको करिब पाँच महिना मात्रै भएको उल्लेख गर्दै मन्त्री गौतमले यस अवधिमा सरकार सञ्चालन सहज नभएको बताइन्। प्रतिनिधिसभामा सरकारसँग पर्याप्त संख्या रहे पनि कानुन निर्माणलगायतका विषयमा संवैधानिक संरचनाका कारण विभिन्न चुनौती रहेको उनको भनाइ थियो।
माग सम्बोधनमा ढिलाइ हुँदा जेन–जी समुदायको धैर्य टुट्न सक्ने अवस्था आउनसक्ने स्वीकार गर्दै उनले संयम कायम राख्न आग्रह गरिन्। शहीद तथा घाइतेले देखेको सपना पूरा गर्ने उद्देश्यका साथ सरकारले सफा नियतले काम गरिरहेको उनको दाबी थियो।
मन्त्री गौतमले देशमा भइरहेको भ्रष्टाचार र सुशासनविरुद्ध आवाज उठाउँदा नागरिकले गोली खानुपरेको बताइन्। भदौ २३ गते आन्दोलनकारीमाथि राज्यले गरेको दमनकै कारण भदौ २४ गतेको घटना निम्तिएको उनको भनाइ थियो।
उनले भदौ २३ र २४ गते भएका घटनालाई एउटै घटनाका रूपमा हेर्न नहुने भन्दै दुवै दिनका घटनाको प्रकृति र परिस्थितिलाई अलग–अलग ढंगले बुझ्नुपर्ने बताइन्।