काठमाडौँ- काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद भवन अहिले पनि गत वर्षको जेन–जी आन्दोलनले निम्त्याएको क्षतिको साक्षी बनेर उभिएको छ। आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको उक्त भवन एक वर्ष बितिसक्दा पनि पुनःनिर्माण वा व्यवस्थित मर्मतको पहल नहुँदा जीर्ण र पीडादायी अवस्थामा देखिन्छ।
नेपालकै एकमात्र अन्तर्राष्ट्रिय भवनका रूपमा चिनिएको यो भवन गत वर्षको जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेको थियो। तर, भवनको पुनःनिर्माण वा संरक्षणका लागि न त अन्तरिम सरकारले ठोस पहल गर्यो, न त हालको बालेन नेतृत्वको सरकारले नै त्यसतर्फ आवश्यक कदम चालेको देखिन्छ।
क्षतिग्रस्त भवनलाई संरक्षण तथा पुनःनिर्माण गर्नुको सट्टा आन्दोलनका क्रममा जलेका सवारीसाधनका भग्नावशेषसमेत यही परिसरमा थुपारिएका छन्। यसले ऐतिहासिक महत्व बोकेको भवनको सौन्दर्य र गरिमा झनै बिगारेको छ। परिसर अहिले जलेका सवारीसाधन थुपारिएको कबाडीखानाजस्तै देखिन थालेको छ।
आन्दोलनका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आगजनी हुँदा १ हजार ४२ वटा सवारीसाधन नष्ट भएको बताइएको छ। तीमध्ये केही जलेका सवारीसाधनलाई पुरानो संसद भवन परिसरमा ल्याएर राखिएको हो।
जेन–जी आन्दोलनको एक वर्ष पुगेको अवसरमा मंगलबार आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन पुगेकाहरूले पनि पुरानो संसद भवन परिसरमा थुपारिएका जलेका सवारीसाधन अवलोकन गरेका थिए। कतिपयले भग्नावशेषको तस्बिर खिचे भने केहीले भिडियोसमेत बनाए। जलेका ती सवारीसाधनले एक वर्षअघि भएको हिंसा, आगजनी र विध्वंसको अवस्थालाई पुनःस्मरण गराइरहेका थिए।
गत वर्ष भदौ २३ गते जेन–जी आन्दोलन सुरु भएको थियो भने भदौ २४ गते आन्दोलनले उग्र रूप लिँदा व्यापक तोडफोड र आगजनी भएको थियो। त्यसक्रममा सरकारी तथा निजी कार्यालय, भवन र संरचनामा आगजनी तथा तोडफोड भएको थियो। सवारीसाधनसमेत ठूलो संख्यामा आगजनीबाट नष्ट भएका थिए।
एक वर्ष बितिसक्दा पनि आन्दोलनबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र संरक्षणमा प्रभावकारी पहल नहुँदा पुरानो संसद भवन अहिले पनि विगतको विध्वंसको मौन साक्षी बनेर उभिएको छ।





