काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकको पीडा र आँशुलाई होच्याउने तथा सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने व्यक्तिका लागि पार्टीमा कुनै स्थान नरहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले विपद्मा परेका नागरिकको चित्कार सुन्ने र उनीहरूको आँशु पुछ्ने सदस्य पार्टीलाई आवश्यक रहेको बताए।
उनले नागरिकको आक्रोश र पीडालाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने तथा साइबर बुलिङ गर्ने छुट कसैलाई नभएको स्पष्ट पारे।
‘यदि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि तहको सदस्य वा पदाधिकारी विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने वा साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइयो भने त्यस्ता व्यक्तिलाई साधारण सदस्यसमेत नरहने गरी तत्काल पार्टीबाट निष्कासन गरिनेछ,’ लामिछानेले भने।
विपद्मा परेका नागरिकको पीडामाथि संवेदनहीन व्यवहार गर्ने व्यक्तिलाई रास्वपाले संरक्षण नगर्ने उनको भनाइ थियो।
‘विपद्मा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन,’ उनले भने।
लामिछानेले मानिस गम्भीर चोट र पीडामा रहेका बेला आक्रोशमा भगवान्लाई समेत सराप्न सक्ने भन्दै पीडित नागरिकको भावनालाई बुझ्नुपर्ने बताए।
उनले विपद्को समयमा सरकार र राजनीतिक दलहरूले नागरिकको पीडामा साथ दिनुपर्नेमा जोड दिँदै ‘सरकार के हो, रास्वपा के हो?’ भन्ने प्रश्नसमेत गरे।