काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार सञ्चालन नभएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारको भूमिकाप्रति प्रश्न उठाउँदै सरकारको निर्णय प्रक्रिया सल्लाहकारकेन्द्रित बनेको दाबी गरेका हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले प्रधानमन्त्रीको सल्लाहकार प्रणाली हाबी भएको बताए ।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर, प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन,’ उनले भने ।
सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति संकेत गर्दै उनका गतिविधिबारे समेत प्रश्न उठाए । उनले प्रमुख सल्लाहकार दिल्ली गएको र भारतीय जासुसी संस्थाको निमन्त्रणामा त्यहाँ पुगेको दाबी गर्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए ।
‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन् । त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्,’ सिंहले भने ।
सरकारको प्रशासनिक तथा निर्णयको केन्द्र सिंहदरबार हुनुपर्नेमा निर्णय प्रक्रिया अन्यत्रबाट प्रभावित भइरहेको उनको आरोप थियो । उनले सरकारको केन्द्र ज्वागल बनेको दाबी गर्दै यसलाई ‘हुकुमी शासन’को संज्ञा दिए ।
‘सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु । तर, सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ उनले भने ।
सिंहले वर्तमान सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि समेत प्रहार गरिरहेको आरोप लगाए । उनले सरकार सञ्चालनको शैली र निर्णय प्रक्रियाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए ।