काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार सञ्चालन नभएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारको भूमिकाप्रति प्रश्न उठाउँदै सरकारको निर्णय प्रक्रिया सल्लाहकारकेन्द्रित बनेको दाबी गरेका हुन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सिंहले नेपालको संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले प्रधानमन्त्रीको सल्लाहकार प्रणाली हाबी भएको बताए।
‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ। तर, प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन,’ उनले भने।
सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति संकेत गर्दै उनका गतिविधिबारे समेत प्रश्न उठाए। उनले प्रमुख सल्लाहकार दिल्ली गएको र भारतीय जासुसी संस्थाको निमन्त्रणामा त्यहाँ पुगेको दाबी गर्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्,’ सिंहले भने।
सरकारको प्रशासनिक तथा निर्णयको केन्द्र सिंहदरबार हुनुपर्नेमा निर्णय प्रक्रिया अन्यत्रबाट प्रभावित भइरहेको उनको आरोप थियो । उनले सरकारको केन्द्र ज्वागल बनेको दाबी गर्दै यसलाई ‘हुकुमी शासन’को संज्ञा दिए।
‘सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु । तर, सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ उनले भने।
सिंहले वर्तमान सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि समेत प्रहार गरिरहेको आरोप लगाए । उनले सरकार सञ्चालनको शैली र निर्णय प्रक्रियाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।