काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘जेनजी आन्दोलन’ स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय सभामा क्षमा मागेकी छन् । तर, उनले आफूले बोलेका तथ्यगत विषयको भने बचाउ गरेकी छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले आफ्नो अभिव्यक्तिले कसैको हृदयमा चोट पुगेको भए क्षमाप्रार्थी रहेको बताइन् । आगामी दिनमा यस्ता विषयमा थप सतर्क हुने उनको भनाइ थियो ।
गौतमले भदौ २३ गते आयोजित कार्यक्रममा आफूले राष्ट्रिय सभाले कानुन निर्माणमा ‘असहयोग गरेको’ भन्ने शब्द प्रयोग नगरेको स्पष्ट पारिन् । उनले आफूले तथ्यभन्दा बाहिर गएर कुनै कुरा नबोलेको दाबी गर्दै आफ्नो भनाइलाई गलत ढङ्गले व्याख्या गरिएको बताइन् ।
‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता विषयमा सतर्क हुनेछु,’ उनले भनिन् ।
जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण तथा संविधान संशोधनका विषयमा आफूले तथ्यमा आधारित भएर मात्रै धारणा राखेको उनको दाबी थियो । ‘मैले राष्ट्रिय सभाले असहयोग गर्यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन, माननीयहरूले रेकर्ड हेर्न सक्नुहुन्छ,’ उनले भनिन् ।
मन्त्री गौतमले कानुन निर्माण प्रक्रिया प्रतिनिधिसभा र राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण हुने भएकाले दुवै सदनबीच सहकार्य अनिवार्य रहेको बताइन् । प्रतिनिधिसभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि राष्ट्रिय सभाको सहकार्य आवश्यक हुने उनको भनाइ थियो ।
आफ्नो अभिव्यक्तिलाई लिएर सञ्चारमाध्यम, राजनीतिक दलका नेता तथा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भएको उल्लेख गर्दै उनले त्यसबाट राष्ट्रिय सभा सदस्यहरूको भावनामा चोट पुगेको हुनसक्ने भन्दै दुःख व्यक्त गरिन् ।
तर, आफूले नबोलेका कुराको जिम्मेवारी लिन नसक्ने उनले स्पष्ट पारिन् । ‘मैले बोकेको हदसम्म म जवाफ दिन तयार छु। हामी मिलेर नै कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्छ,’ उनले भनिन् ।
मन्त्री गौतमले पछिल्लो समय कानुन निर्माण प्रक्रियामा ढिलाइ भइरहेको गुनासो सम्बोधन गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिइन् । आगामी दिनमा दुवै सदनबीच सुमधुर सहकार्य गर्दै छिटोछरितो रूपमा कानुन निर्माण गर्ने प्रतिबद्धता पनि उनले जनाइन् ।