काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विपत्तिको समयमा सत्ता पक्ष र प्रतिपक्षको विभाजनभन्दा नागरिकको जीवन रक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले भोटेकोशीमा आएको भीषण विपत्तिपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराइन्। सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उनले उपलब्ध सबै प्रविधि, उद्धारका उपाय र दक्ष जनशक्ति तत्काल परिचालन गर्न आग्रह गरिन्।
अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको अवस्था संवेदनशील रहेको उल्लेख गर्दै उनले मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायतका बिरामीको नियमित औषधि उपचारमा अवरोध हुन नदिन विशेष स्वास्थ्य टोली र आवश्यक औषधिको व्यवस्था गर्न सरकारसँग माग गरिन्।
ओलीले भनिन्, ‘भोटेकोशीको यो भीषण विपत्तिको घडीमा हामी सत्ता पक्ष र प्रतिपक्ष होइनौँ, हामी एउटै राज्य हौँ, एउटै पीडामा उभिएका नेपाली हौँ। त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता राजनीति होइन, जीवनको रक्षा र नागरिकको उद्धार हुनुपर्छ।’
उनले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायको विषय तथ्य र स्पष्ट योजनासहित उठाउन सरकारलाई आग्रह गरिन्।
‘लस एन्ड ड्यामेज’ कोषका लागि सरकारले पत्राचार गरे पनि माग गरिएको रकम, प्रभावित क्षेत्र र समयसीमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ। नेपालको पुनर्निर्माण लागत अर्बौं डलर पुग्न सक्ने भन्दै उनले सीमित अन्तर्राष्ट्रिय सहयोगमा मात्र निर्भर भएर विपद् व्यवस्थापन गर्न नसकिने बताइन्।
प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन लागेको सन्दर्भमा ओलीले त्यहाँ नेपालले जलवायु न्यायको विषय प्रभावकारी रूपमा उठाउनुपर्ने बताइन्।
जलवायु परिवर्तनले विपद्को जोखिम बढाए पनि त्यसलाई घरेलु कमजोरी ढाक्ने आधार बनाउन नहुने उनले स्पष्ट पारिन्। नदीको प्राकृतिक बहावमा हस्तक्षेप, अव्यवस्थित सहरीकरण, वातावरणीय मापदण्डको उल्लङ्घन तथा विपद् पूर्वतयारी, पूर्वसूचना, उद्धार र समन्वयमा भएका कमजोरीको गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ।
विगतका विपद्बाट पाठ सिक्दै सरकारले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, पूर्वसूचना प्रणाली र प्रभावकारी उद्धार संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा ओलीले जोड दिइन्।