काठमाडौँ- नेकपा एमालेको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको समीक्षा, संगठनको अवस्था र आगामी दिनमा पार्टीलाई पुनर्गठन गर्ने विषयमा छलफल भइरहेको छ।
निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर परिणाम व्यहोरेपछि पार्टीभित्र त्यसको कारण, संगठनात्मक कमजोरी, नेतृत्वको भूमिका तथा आगामी रणनीतिबारे व्यापक समीक्षा सुरु गरिएको थियो। सोही क्रममा एमालेले निर्वाचनको समीक्षा गर्दै पार्टी पुनर्गठनका लागि कार्यदल गठन गरेको थियो।
कार्यदलले देशभर पुगेर पार्टीका नेता, कार्यकर्ता तथा विभिन्न तहका संगठनसँग छलफल गरेको थियो। स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका नेता–कार्यकर्ताबाट प्राप्त सुझाव, गुनासा र प्रतिक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गरिएको हो।
यस क्रममा एमाले महासचिव शंकर पोखरेलले कार्यदलका लागि निर्वाचन समीक्षा सम्बन्धी प्रतिवेदन तयार गरेका छन्। पोखरेलको प्रतिवेदनमा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारण, संगठनको अवस्था र आगामी कार्यदिशाबारे विषय समेटिएको बताइएको छ।
तर, कार्यदलका संयोजक तथा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पनि छुट्टै प्रतिवेदन तयार पारेका छन्। पोखरेलको प्रतिवेदनलाई काउन्टर गर्ने गरी बादलले अलग्गै प्रतिवेदन तयार पारेको बताइएको छ।
कार्यदलको जारी बैठकमा शंकर पोखरेल र रामबहादुर थापा ‘बादल’ले तयार पारेका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। दुवै प्रतिवेदनमा प्रस्तुत निष्कर्ष, निर्वाचनमा पार्टीको पराजयका कारण तथा पार्टी पुनर्गठनका विषयमा कार्यदलभित्र छलफल गरी साझा निष्कर्ष निकाल्ने तयारी छ।
निर्वाचनपछि एमालेभित्र नेतृत्व, संगठन सञ्चालन, पार्टीको राजनीतिक कार्यदिशा र कार्यकर्ताको भूमिकाका विषयमा समेत प्रश्न उठ्दै आएका छन्। देशभरका नेता–कार्यकर्तासँग गरिएको छलफलमा नेतृत्व परिवर्तनदेखि संगठन सुदृढीकरणसम्मका विभिन्न सुझाव आएको बताइएको छ।
विशेषगरी केही एमाले नेता–कार्यकर्ताले पार्टीको पराजयको जिम्मेवारी नेतृत्वले लिनुपर्ने र पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन्। यस्ता सुझावसमेत कार्यदलको प्रतिवेदनमा समेटिएको बताइएको छ।
कार्यदलले आजको छलफलबाट दुवै प्रतिवेदनलाई अध्ययन गरी निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी निष्कर्षलाई अन्तिम रूप दिने तयारी गरेको छ।
कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ। सचिवालय बैठकमा कार्यदलको प्रतिवेदनमाथि थप छलफल हुनेछ।
त्यसपछि प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकमा पेस गरी छलफल गर्ने एमालेको तयारी छ। केन्द्रीय कमिटीमा हुने छलफलपछि निर्वाचनमा पार्टीको पराजयका कारण र आगामी दिनमा पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणका लागि आवश्यक निर्णय लिइने अपेक्षा गरिएको छ।
यसरी निर्वाचनपछिको एमालेभित्रको समीक्षा प्रक्रिया अब निर्णायक चरणमा पुगेको छ। कार्यदलले तयार पार्ने अन्तिम प्रतिवेदन र त्यसमा समेटिने निष्कर्षले आगामी दिनमा एमालेको संगठनात्मक संरचना, नेतृत्वको कार्यशैली र राजनीतिक रणनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ।
-1789108792.jpeg)
-1789108793.jpeg)
-1789108793.jpeg)
-1789108794.jpeg)
-1789108794.jpeg)