काठमाडौँ- प्रधानमन्त्री बालेन शाह र निजी क्षेत्रका उद्योगी–व्यवसायीबीच सिंहदरबारमा छलफल भइरहेको छ। देशको पछिल्लो आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा अर्थतन्त्रलाई थप चलायमान बनाउने विषयमा छलफल केन्द्रित रहेको छ।
छलफलमा उद्योगी–व्यवसायीहरूले लगानीको वातावरण, रोजगारी सिर्जना, उद्योग व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा निजी क्षेत्रका चुनौतीहरूबारे प्रधानमन्त्री शाहलाई जानकारी गराइरहेका छन्।
बैठकमा उद्योगी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढकाललगायत उद्योगी–व्यवसायी सहभागी छन्।
पछिल्लो समय लगानीको वातावरण कमजोर हुँदै गएको, उद्योग व्यवसायमा चुनौती थपिएको तथा रोजगारीका अवसर विस्तार गर्न कठिनाइ भइरहेको अवस्थामा निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।
उद्योगी–व्यवसायीले व्यवसाय सञ्चालनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या, लगानी विस्तारका चुनौती र अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकाबारे प्रधानमन्त्रीसमक्ष धारणा राखिरहेका छन्।
त्यसैगरी, नयाँ लगानी आकर्षित गर्ने, विद्यमान उद्योग तथा व्यवसायलाई प्रोत्साहन गर्ने, रोजगारीका अवसर बढाउने र आर्थिक गतिविधिलाई गति दिने विषयमा पनि छलफल भइरहेको छ।
प्रधानमन्त्री शाहले निजी क्षेत्रको लगानी र सक्रिय सहभागिताबिना अर्थतन्त्रलाई गतिशील बनाउन कठिन हुने भएकाले उद्योगी–व्यवसायीका समस्या र सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्ने विषयमा छलफल गरिरहेको बताइएको छ।
सरकार र निजी क्षेत्रबीच नियमित संवाद तथा सहकार्य बढाएर लगानीमैत्री वातावरण निर्माण गर्ने, उद्योग व्यवसायको विस्तार गर्ने र आर्थिक गतिविधि बढाउने विषय बैठकको प्रमुख एजेन्डामा रहेको छ।
छलफलबाट निजी क्षेत्रले उठाएका समस्या समाधानका लागि सरकारका तर्फबाट लिनुपर्ने नीतिगत तथा व्यावहारिक कदमबारे समेत निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
बैठक जारी रहेकाले छलफलका थप निर्णय तथा उद्योगी–व्यवसायीले प्रधानमन्त्रीसमक्ष राखेका विषयबारे विस्तृत विवरण आउन बाँकी छ।