काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्दै पुनरुत्थान र लगानीको वातावरण निर्माण गर्न विभिन्न क्षेत्रलाई समेटेर पाँचवटा प्याकेजमार्फत काम अघि बढाइएको जानकारी दिए।
अर्थमन्त्रीका अनुसार पहिलो प्याकेज भोटेकोशी बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनःस्थापनामा केन्द्रित छ। बाढीबाट प्रभावित उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका लागि आवश्यक अध्ययन सम्पन्न भइसकेको उनले बताए।
दोस्रो प्याकेज शिथिल पुँजीबजारलाई सम्बोधन गर्न केन्द्रित रहेको छ। पुँजीबजारमा देखिएको समस्या समाधानका लागि एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना सार्वजनिक गर्ने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए।
त्यस्तै, तेस्रो प्याकेज निजी क्षेत्रको प्रवर्द्धन तथा पुनरुत्थानका लागि ल्याइने भएको छ। निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्दै लगानी र व्यावसायिक गतिविधि बढाउन छिट्टै विशेष प्याकेज घोषणा गर्ने तयारी भइरहेको उनले बताए।
चौथो प्याकेज नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटीएफ) को ‘ग्रे लिष्ट’बाट हटाउने विषयमा केन्द्रित रहेको छ। नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न आवश्यक कानुनी, नीतिगत तथा संस्थागत सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको अर्थमन्त्रीले बताए।
त्यसैगरी, पाँचौँ प्याकेज भोटेकोशी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्त परिचालनमा केन्द्रित रहनेछ। बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा अन्य संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय स्रोतबाट आवश्यक वित्त जुटाउने दिशामा सरकार अघि बढेको वाग्लेले बताए।
‘अन्तर्राष्ट्रिय फण्ड भित्र्याउने र त्यसलाई व्यवस्थित गर्ने दिशामा पनि हामी अग्रसर भएका छौँ,’ अर्थमन्त्री वाग्लेले भने।
उनका अनुसार यी प्याकेजमार्फत तत्कालीन समस्याको समाधानसँगै निजी क्षेत्रको मनोबल बढाउने, लगानीको वातावरण सुधार गर्ने, वित्तीय क्षेत्रलाई चलायमान बनाउने तथा बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणलाई गति दिने सरकारको लक्ष्य छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट अकल्पनीय क्षति भएको भन्दै प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारीका लागि सरकारले विशेष राहत तथा पुनरुत्थान प्याकेज ल्याउनुपर्नेमा जोड दिए।
श्रेष्ठले विपत्तिबाट प्रभावित निजी क्षेत्रलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण बनाउन सरकारको विशेष पहल आवश्यक रहेको बताए। साथै, निजी क्षेत्रको प्रवर्द्धन र अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।