काठमाडौँ- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना नलिएपछि सडकपेटीमै सुत्केरी भएकी पर्साहीकी बबिता पासवानको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले अस्पतालमा उपचार तथा प्रसूति सेवाका लागि पुगेकी बबिताले राज्यको सेवा प्राप्त गर्न नसकेको बताइन्।
उनले भनिन्, ‘राज्य खोज्दै बबिता अस्पताल पुगिन्। तर राज्यको सेवा बबितासम्म पुगेन।’
सांसद कार्कीले बबिताजस्तै हरेक गर्भवती महिलासम्म राज्यको स्वास्थ्य सेवा पुग्नुपर्नेमा जोड दिइन्। गर्भवती महिलाले प्रसूति सेवाका लागि अस्पताल पुग्दा आर्थिक अवस्था, सामाजिक हैसियत वा अन्य कुनै कारणले सेवा पाउनबाट वञ्चित हुन नहुने उनको भनाइ थियो।
उनले राज्यले नागरिकलाई संकटको अवस्थामा साथ दिने अनुभूति दिलाउनुपर्ने बताइन्।
‘हरेक गर्भवतीसम्म राज्य पुगोस् र भनोस्—चिन्ता नलेऊ बबिता, म तिम्रो साथमा छु। तिमीलाई केही पनि हुँदैन, बबिता, राज्य तिम्रो साथमा छ,’ उनले भनिन्।
सांसद कार्कीले उक्त घटनालाई एउटा व्यक्तिको समस्याका रूपमा मात्र नहेरी देशको स्वास्थ्य सेवा प्रणाली र सरकारी अस्पतालमा नागरिकले भोग्नुपरेका समस्यासँग जोडेर हेर्नुपर्ने बताइन्।
विशेषगरी गर्भवती तथा सुत्केरी महिलाले समयमा स्वास्थ्य सेवा नपाउँदा ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले प्रसूति सेवामा राज्यको प्रत्यक्ष निगरानी र जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो।
बबिता पासवानको घटनाले सरकारी अस्पतालमा उपचार तथा प्रसूति सेवा लिन पुग्ने विपन्न तथा पहुँचविहीन नागरिकले भोग्नुपरेका समस्याबारे पुनः प्रश्न उठाएको छ। सांसद कार्कीले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेकी छन्।