काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको आरोपबारे अनुसन्धान गर्नुपर्ने विषय पुनः प्रतिनिधिसभामा उठाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुनारले आईजीपी कार्कीमाथि गम्भीर आरोप लाग्दासमेत सरकारले छानबिन अघि नबढाएको भन्दै प्रश्न उठाएका हुन्।
उनले आईजीपी कार्कीमाथि तल्लो तहका प्रहरी कर्मचारीको जुत्ता–मोजासम्बन्धी अनियमितता तथा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको दाबी गर्दै सरकारले उनलाई बर्खास्त गर्नुको सट्टा संरक्षण गरिरहेको हो कि भन्ने प्रश्न गरे।
‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजा खाइदिएकोमा आरोप उनी (आईजीपी) माथि लागेको छ। करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ?’ सुनारले प्रश्न गरे।
उनले आईजीपीमाथि लागेका आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै ‘उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ ?’ भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद सुनारले प्रहरी संगठनको नेतृत्वमा रहेका व्यक्तिमाथि गम्भीर आरोप लाग्दा त्यसलाई सामान्य रूपमा लिन नहुने बताए। आरोपको सत्यतथ्य छानबिन गरी दोषी देखिए कारबाही र निर्दोष भए आरोपबाट स्पष्ट रूपमा मुक्त गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।
उनले आफ्नो धारणा राख्दै ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, योबारेमा सचेत हुनुपर्छ,’ भने।
सुनारले संसद्मार्फत सरकारलाई आईजीपी कार्कीमाथि लागेका आरोपबारे तत्काल आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।