सप्तरी- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशका विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षाकर्मी तथा जनप्रतिनिधिबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रका काम अघि बढाउने बताएका छन् ।
शिक्षा क्षेत्रका समस्या र सुझाव संकलनका क्रममा राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय पुगेका मन्त्री पोखरेलले सप्तरीसहित मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयमा स्थलगत निरीक्षण गरी सरोकारवालासँग सुझाव लिने बताए ।
उनका अनुसार जिल्लाअनुसार मौखिक तथा लिखित फाराममार्फत सुझाव संकलन भइरहेको छ । “जिल्लाअनुसार मौखिक र लिखित फाराम दिएर सुझाव संकलन गर्दैछौँ । प्राप्त सुझावलाई प्राथमिकतामा राखेर कामको गति अगाडि बढाउने योजना छ,” उनले भने ।
मन्त्री पोखरेलले आफू तीन दिनदेखि मधेस प्रदेशको भ्रमणमा रहेको जानकारी दिँदै नयाँ पाठ्यक्रम निर्माण तथा नयाँ शिक्षा ऐन र नियमावली निर्माणका क्रममा स्थलगत यथार्थमा आधारित सुझावलाई समेट्ने तयारी भइरहेको बताए ।
नयाँ पाठ्यक्रम कस्तो हुनुपर्ने र विगतमा के–कस्ता विषय समेटिएको भए प्रभावकारी हुन्थ्यो भन्ने विषयमा सुझाव माग्दा सीपमा आधारित शिक्षा आवश्यक रहेको सुझाव प्राप्त भएको उनले बताए । स्थलगत रूपमा समस्या पहिचान गर्दा त्यसको समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा समेत पुगेर सुझाव संकलन गरिने उनको भनाइ छ ।
यसैबीच, मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुर नेतृत्वको टोलीले मन्त्री पोखरेललाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह मान्यता दिनुपर्ने, विश्वविद्यालय अनुदान आयोगलगायत सम्बन्धित निकायसँग सहयोग तथा समन्वय प्रभावकारी बनाउनुपर्ने, एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने तथा प्रदेशमा स्थापना हुने कृषि कलेजलाई मधेस प्रदेश कृषि विश्वविद्यालयअन्तर्गत समावेश गर्नुपर्ने माग गरिएको छ ।