काठमाडौँ- शिक्षक सेवा आयोगले आफ्नो १८औँ वार्षिक प्रतिवेदन, २०८३ शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलसमक्ष पेश गरेको छ।
आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालले आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलसमक्ष प्रतिवेदन पेश गरेका हुन्।
आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका प्रमुख कार्य, प्राप्त उपलब्धि, कार्यसम्पादनका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी कार्यदिशालाई प्रतिवेदनमा समेटेको छ।
प्रतिवेदनमा आयोगका समग्र गतिविधि तथा वार्षिक कार्यसम्पादनको विवरण प्रस्तुत गरिएको छ। शिक्षक छनोट, अध्यापन अनुमतिपत्र, बढुवा तथा शिक्षक व्यवस्थापनसँग सम्बन्धित कार्यसम्पादन र आगामी सुधारका विषय प्रतिवेदनका महत्वपूर्ण पक्षका रूपमा रहेका छन्।
प्रतिवेदन पेश कार्यक्रममा आयोगका अध्यक्ष तथा सदस्यहरू, मन्त्रालयका सचिव, मन्त्रीका सल्लाहकार, सहसचिव, प्रशासनिक प्रमुख तथा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो।
वार्षिक प्रतिवेदनले आयोगको कार्यसम्पादनको अवस्था, विद्यमान चुनौती र आगामी प्राथमिकताबारे मन्त्रालयलाई जानकारी गराउने अपेक्षा गरिएको छ।

