काठमाडौँ- शैक्षिक अभियन्ता तथा शिक्षक रमेशबाबु भट्टराईले शिक्षकका पेसागत मागमुद्दा कमजोर बन्दै जानुमा शिक्षक स्वयं र उनीहरूको नेतृत्वको कमजोरी रहेको टिप्पणी गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले शिक्षकले नै शिक्षकको आलोचना गर्ने प्रवृत्ति पुरानै रहेको बताएका छन्। शिक्षकहरूबीच नै एकअर्कालाई गाली गर्ने र आलोचना गर्ने अवस्था रहेपछि अभिभावक, शिक्षाविद् तथा अन्य सरोकारवालाबाट आलोचना हुनु अस्वाभाविक नभएको उनको भनाइ छ।
भट्टराईले शिक्षकका साझा मुद्दा कमजोर हुनुमा आपसी असमझदारी र नेतृत्वको कमजोरी पनि जिम्मेवार रहेको उल्लेख गरेका छन्। राज्यले शिक्षकलाई १७ थरीमा विभाजन गरेको प्रसंग उठाउँदै उनले यसले शिक्षकहरूबीच एकता कायम हुन नदिने अवस्था सिर्जना गरेको हुन सक्ने टिप्पणी गरेका छन्।
उनले शिक्षकहरूलाई आपसी आलोचना र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा पेसागत अधिकार र साझा माग पूरा गराउन एकजुट हुन आग्रह गरेका छन्। विशेषगरी शिक्षक सेवा सम्बन्धी नियमावली संशोधन, शिक्षा ऐन निर्माण तथा शिक्षकका मागमुद्दा सम्बोधन गराउने विषयमा केन्द्रित हुनुपर्ने उनको जोड छ।
‘कुरा प्रस्ट छ, आलोचना छोड, नियमावली संशोधन र ऐन निर्माणमा चासो राख र आफ्ना मागमुद्दा पूरा गर्न अघि बढ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आफू अब अरूबाट लिनुभन्दा समाज र शिक्षक समुदायलाई योगदान दिन अघि बढेको उल्लेख गर्दै भट्टराईले आलोचना र गाली सहन तयार भए पनि शिक्षकका जायज मागमुद्दा कमजोर पार्ने पक्षमा नरहेको स्पष्ट पारेका छन्।
‘गाली सहन तयार छु तर मागमुद्दा कमजोर बनाउन तयार छैन है मित्रहरू’, उनले लेखेका छन्।
उनको अभिव्यक्तिले शिक्षकका पेसागत अधिकारका लागि आपसी एकता, सशक्त नेतृत्व र साझा मुद्दामा केन्द्रित हुनुपर्ने बहसलाई पुनः सतहमा ल्याएको छ।