काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ९३० जना शिक्षकलाई निवृत्तिभरण अधिकारपत्र जारी गरेको छ। साउनदेखि असोज मसान्तसम्मको अवधिमा शिक्षकको सेवा अभिलेख व्यवस्थापन, अवकाशपछिका सुविधा निर्धारण तथा अभिलेख डिजिटलकरणलगायतका काम गरिएको कार्यालयले जनाएको छ।
किताबखानाको सार्वजनिक विवरणअनुसार उक्त अवधिमा देशभरका ६०९ स्थानीय तहबाट प्राप्त शिक्षकको तलबी प्रतिवेदन पारित गरिएको छ। यसैगरी, ९७ हजार ७३७ जना शिक्षकको सम्पत्ति विवरण दर्ता गरिएको छ।
शिक्षकको सेवा सुविधासम्बन्धी कामअन्तर्गत १५० जनाको ग्रेड एकीन र ८८ जनाको प्राविधिक ग्रेड निर्धारण गरिएको छ। पाँच जना शिक्षकको सिटरोल दर्ता गरिएको छ भने अनिवार्य अवकाशमा जान लागेका एक हजार ५३० जना शिक्षकलाई अवकाशसम्बन्धी जानकारी व्यवस्थापन गरिएको छ।
कार्यालयले सेवा अभिलेखलाई डिजिटल प्रणालीमा सुरक्षित गर्ने कामलाई समेत प्राथमिकता दिएको छ। सोही क्रममा दुई हजार ५०० जना शिक्षकका कागजात स्क्यान गरी डिजिटल अभिलेखमा अपलोड गरिएको छ।
अवकाशप्राप्त शिक्षक तथा उनीहरूका परिवारलाई उपलब्ध गराइने सुविधातर्फ १०१ जनाको उपदान निर्धारण गरिएको छ। त्यस्तै, १८ जनालाई पारिवारिक निवृत्तिभरण र ८३१ जनालाई आजीवन पारिवारिक वृत्ति निर्धारण गरिएको कार्यालयको विवरणमा उल्लेख छ।
यस अवधिमा ९३२ जनाको औषधि उपचार खर्च र ९३२ जनाको बिरामी बिदासम्बन्धी सुविधा निर्धारण गरिएको छ। त्यस्तै, ७६ जनाको इच्छाइएको व्यक्ति कायम वा परिवर्तन, ४५२ जनाको विवरण संशोधन, २७ जनाको निर्णय पर्चा जारी र ३८ जनाको निवृत्तिभरण अधिकारपत्र संशोधन गरिएको छ।
शिक्षकको सेवा अभिलेख व्यवस्थापन तथा अवकाशपछिको सुविधा वितरणलाई थप सहज र प्रविधिमैत्री बनाउन किताबखानाले ईपेन्सन प्रणालीसमेत कार्यान्वयन गरिरहेको छ। कार्यालयका अनुसार हालसम्म १० जिल्लामा ईपेन्सन प्रणाली विस्तार भएको छ भने २८ जना शिक्षकले यस प्रणालीमार्फत सेवा प्राप्त गरेका छन्।
आर्थिक वर्ष २०८३/८४ मा शिक्षकको सिटरोल दर्ता तथा अवकाशपछिको सेवा सुविधासम्बन्धी आधार र प्रक्रिया मन्त्रालयबाट स्वीकृत भएपछि सोहीअनुसार ईपेन्सन प्रणालीको सफ्टवेयर अद्यावधिक गरिएको कार्यालयले जनाएको छ।
बहालवाला तथा अवकाशप्राप्त स्थायी शिक्षकको वैयक्तिक विवरण संशोधन, सेवा अभिलेख प्रमाणीकरण र निवृत्तिभरणसम्बन्धी समस्या समाधानलाई कार्यालयले प्रमुख सेवाका रूपमा अघि बढाएको छ। पुराना अभिलेखलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने र सेवा प्रवाहलाई छरितो बनाउने काम पनि जारी रहेको छ।
तर, शिक्षकको सेवा अभिलेख व्यवस्थापनमा विभिन्न चुनौती रहेको कार्यालयले औँल्याएको छ। पुराना अभिलेख अपूर्ण हुनु, विभिन्न निकायमा शिक्षकको विवरण फरक–फरक रहनु, निवृत्तिभरणका लागि आवश्यक कागजात नपुग्नु र सेवा अवधि यकिन गर्न कठिनाइ हुनु प्रमुख समस्या रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, स्थानीय तहबाट शिक्षकको तलबी प्रतिवेदन समयमै प्राप्त नहुनु, पुराना अभिलेख डिजिटलकरण गर्न बजेट अभाव हुनु तथा सूचना प्रविधिसम्बन्धी पूर्वाधार र दक्ष जनशक्तिको कमीले पनि सेवा प्रवाह प्रभावित भइरहेको छ।
यी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय, सेवा अभिलेख रुजु तथा प्रमाणीकरण, आवश्यक कागजातको चेकलिस्ट लागू गर्ने र स्थानीय तहलाई नियमित परिपत्र तथा प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको किताबखानाले जनाएको छ।