काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कर्मचारीले नयाँ अध्यादेश तथा नियमावलीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। सरोकारवालासँग छलफल नै नगरी अध्यादेश ल्याइएको र कर्मचारी तथा वैज्ञानिकका सुझाव बेवास्ता गरिएको भन्दै उनीहरूले शुक्रबार नास्ट परिसरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी कर्मचारीले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यसअन्तर्गतको नियमावली वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको आरोप लगाएका छन्। उनीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी महावीर पुनले नैतिक जिम्मेवारी लिनुपर्ने मागसमेत गरेका छन्।
विरोध कार्यक्रममा बोल्दै प्राविधिक अधिकृत समुन्द्र कँडेलले सुधारका नाममा विद्यमान संस्थालाई कमजोर बनाउने, विज्ञान क्षेत्रलाई रिक्ततामा धकेल्ने र दक्ष जनशक्ति पलायन गराउने कदम स्वीकार्य नहुने बताए। देशको विज्ञान तथा अनुसन्धानको भविष्य निर्धारण गर्ने नीति बनाउँदा सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्ने उनको भनाइ थियो।
कर्मचारीहरूले अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न माग गर्दै निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्न, नवनियुक्त समिति सदस्यलाई समेत जानकारी नदिई निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्न तथा मन्त्रालय र मन्त्रीबाट संस्थामाथि हुने हस्तक्षेप रोक्न आग्रह गरेका छन्।
उनीहरूले संस्थाको नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाबाट चयन गर्न, साविकको ऐनअन्तर्गत नियुक्त कर्मचारीको सेवा सुरक्षा सुनिश्चित गर्न तथा कर्मचारीलाई धम्क्याउने, थर्काउने र मनोबल गिराउने गतिविधि बन्द गर्न माग गरेका छन्। देशभित्रका दक्ष जनशक्तिलाई पलायन हुन बाध्य पार्नुको सट्टा उनीहरूको प्रतिभा, क्षमता र योगदानलाई सम्मान गर्दै अवसर दिनुपर्नेमा समेत जोड दिएका छन्।
त्यस्तै, कर्मचारीहरूले नास्टको विद्यमान संरचना ध्वस्त पारेर नयाँ संरचना खडा गर्नुभन्दा संस्थालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्। अनावश्यक संरचना निर्माणमा खर्च गर्नुको सट्टा प्रयोगशालाहरूको क्षमता विस्तार, अनुसन्धान बजेट वृद्धि र संस्थागत स्वायत्तता सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ।
वैज्ञानिकहरूले कुनै दबाब वा हस्तक्षेपबिना अनुसन्धान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने भन्दै कर्मचारीहरूले विज्ञानमैत्री ऐन, नियमावली तथा नीति निर्माणमा सरोकारवालाको सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।