काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले डिजिटल कन्टेन्ट क्रिएसनमा एकवर्षे पोस्ट ग्राजुएट डिप्लोमा (पीजीडी) कार्यक्रम सञ्चालन गर्ने भएको छ। डिजिटल सञ्चारको बढ्दो माग र बजारमा दक्ष कन्टेन्ट क्रिएटरको आवश्यकता लक्षित गर्दै विभागले नयाँ कार्यक्रम ल्याएको हो।
जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले यस कार्यक्रममा आवेदन दिन सक्नेछन्। कार्यक्रमका लागि आवेदन खुला गरिएको विभागले जनाएको छ। पहिलो वर्ष २५ जना विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको छ भने कार्यक्रमको कुल शुल्क ८५ हजार रुपैयाँ निर्धारण गरिएको छ।
कामकाजी विद्यार्थीलाई समेत लक्षित गरी बिहान वा बेलुका कक्षा सञ्चालन गर्ने तयारी विभागले गरेको छ। सीमित विद्यार्थी संख्या राखेर प्रयोगात्मक सिकाइ, प्रत्यक्ष सामग्री उत्पादन र व्यक्तिगत अभ्यासलाई प्राथमिकता दिने विभागको योजना छ।
परम्परागत पत्रकारितामा मात्र सीमित नरहने यस कार्यक्रमको पाठ्यक्रममा डिजिटल स्टोरीटेलिङ, कन्टेन्ट मार्केटिङ, जनसम्पर्क, प्राविधिक लेखनलगायतका विषय समेटिनेछन्। डिजिटल क्षेत्रमा काम गरिरहेका कतिपय कन्टेन्ट क्रिएटरमा औपचारिक शैक्षिक ज्ञान, कानुनी पक्ष तथा व्यावसायिक नैतिकताको बुझाइ कमजोर रहेको अवस्थालाई ध्यानमा राखेर सैद्धान्तिक र व्यावहारिक दुवै पक्षलाई जोड दिइने विभागले जनाएको छ।
कार्यक्रमलाई बजारमुखी र व्यवहारिक बनाउन विश्वविद्यालयका प्राध्यापकसँगै स्थापित कन्टेन्ट क्रिएटर, फोटोग्राफर, तथ्य जाँच विशेषज्ञ तथा विभिन्न देशका विदेशी विज्ञलाई स्रोत व्यक्तिका रूपमा सहभागी गराइनेछ। प्रयोगशाला सुविधाका लागि सरकारी अनुदान तथा विभागको आफ्नै भवन उपलब्ध भएकाले तुलनात्मक रूपमा सहुलियत शुल्कमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। भर्ना हुने २५ जनामध्ये कम्तीमा २० जना दक्ष र बजारमा प्रतिस्पर्धा गर्न सक्ने कन्टेन्ट क्रिएटर उत्पादन गर्ने विभागको लक्ष्य रहेको छ।
डिजिटल सञ्चार, सामाजिक सञ्जाल, विज्ञापन, जनसम्पर्क तथा मिडिया क्षेत्रमा करियर बनाउन चाहने स्नातकहरूका लागि यो कार्यक्रम नयाँ अवसरका रूपमा रहने अपेक्षा गरिएको छ।