काठमाडौँ- मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले विद्यार्थी केन्द्रित भव्य मनोरञ्जनात्मक कार्यक्रम ‘MIT Extravaganza 2026’ आयोजना गर्ने भएको छ। संगीत, नृत्य, विद्यार्थी प्रतिभा, खानाका परिकार, मनोरञ्जन तथा विभिन्न अन्तरक्रियात्मक गतिविधिलाई एउटै मञ्चमा समेट्दै कार्यक्रम आयोजना गर्न लागिएको हो।
MIT को विद्यार्थी इकाई Student Quality Circle (SQC) को आयोजनामा हुने कार्यक्रम असोज १७, २०८३ (अक्टोबर ३, २०२६) मा बिहान १० बजेदेखि साँझ ७ बजेसम्म काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा आयोजना हुनेछ। कार्यक्रममा करिब १,२०० देखि १,५०० विद्यार्थी तथा युवाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोकप्रिय कलाकार सविन राई एन्ड द फ्यारोजको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहनेछ। त्यस्तै Symphonic Samrajya को ब्यान्ड प्रस्तुति पनि कार्यक्रमको विशेष आकर्षणका रूपमा रहनेछ।
यसका अतिरिक्त MIT का विद्यार्थीहरूले सोलो, डुओ तथा समूहगत सांगीतिक प्रस्तुति र नृत्य प्रस्तुत गर्नेछन्। कार्यक्रममा फुड तथा बेभरेज स्टल, मर्चेन्डाइज तथा प्रमोसनल स्टल, प्रायोजकका गतिविधि, अन्तरक्रियात्मक मनोरञ्जन तथा दर्शक सहभागितामूलक कार्यक्रम समेत समावेश गरिनेछ।
SQC का समन्वयक निशान्त घिमिरेका अनुसार विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र मनोरञ्जनलाई प्राथमिकतामा राखेर कार्यक्रमको संरचना तयार गरिएको छ। दिनभर विद्यार्थी तथा युवाको सहभागिता र उत्साह कायम रहने गरी विभिन्न चरणमा कार्यक्रम सञ्चालन गरिनेछ।
दशैंअघि आयोजना हुने विशेष उत्सवका रूपमा परिकल्पना गरिएको MIT Extravaganza 2026 ले MIT समुदायका विद्यार्थीलाई एकै ठाउँमा भेला भएर रमाइलो गर्ने, प्रतिभा प्रस्तुत गर्ने र नयाँ अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ। मुख्य सांगीतिक प्रस्तुतिसँगै कार्यक्रमलाई क्रमशः अगाडि बढाउँदै भव्य रूपमा समापन गरिनेछ।
यो SQC द्वारा आयोजित कार्यक्रमको दोस्रो संस्करण हो। कार्यक्रमले गत वर्षको MIT Extravaganza 2025 को सफल यात्रालाई निरन्तरता दिनेछ। गत वर्षको कार्यक्रममा संगीत, नृत्य, मनोरञ्जन तथा विभिन्न सांस्कृतिक प्रस्तुति समेटिएका थिए। कार्यक्रममा प्रश्न चिन्ह (Prashna Chinna) तथा The Pine Canopy लगायतका कलाकार तथा ब्यान्डले सांगीतिक प्रस्तुति दिएका थिए।
MIT Extravaganza 2026 ले विद्यार्थीमा उत्साह, सिर्जनशीलता, प्रतिभा प्रदर्शन र सामुदायिक भावना अभिवृद्धि गर्दै दशैंअघि एक विशेष तथा स्मरणीय अनुभव प्रदान गर्ने आयोजकको विश्वास छ।