काठमाडौँ - नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाहरूले ‘नेपाल बसौँ, नेपालमै पढौँ’ अभियान सञ्चालन गर्ने भएका छन्।
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा उपलब्ध गराउने र उच्च शिक्षाका लागि ठूलो रकम विदेशिने प्रवृत्ति न्यूनीकरण गर्ने उद्देश्यसहित इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) ले अभियान अघि बढाउन लागेको हो।
आइप्यानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी अभियानबारे जानकारी दिएको हो। संस्थाले नेपाललाई विदेशी विद्यार्थीको अध्ययन गन्तव्यका रूपमा विकास गर्न दक्षिण एसिया, पूर्वी एसिया तथा अफ्रिकालगायतका क्षेत्रमा ‘स्टडी इन नेपाल’ अभियान सञ्चालन गर्ने जनाएको छ ।
आइप्यानका अध्यक्ष लक्ष्मण केसीले अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य भइरहेको जानकारी दिए। उनका अनुसार नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन भइरहे पनि तिनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न नीतिगत सुधार र सरकारी सहजीकरण आवश्यक छ।
आइप्यानले अभियानलाई दीर्घकालीन र व्यवस्थित बनाउन शिक्षा तथा खेलकुद मन्त्रालयसँग नीतिगत सुधारका लागि आग्रह गरेको छ। नेपालमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न सरकारी स्तरबाटै आवश्यक संरचना र स्पष्ट कार्यविधि तयार गर्नुपर्ने संस्थाको माग छ।
‘स्टडी इन नेपाल बोर्ड’ गठन गर्न माग
अन्तर्राष्ट्रिय विद्यार्थीलाई नेपालमा अध्ययनका लागि आकर्षित गर्न आइप्यानले सरकारी स्तरमा ‘स्टडी इन नेपाल बोर्ड’ गठन गर्न प्रस्ताव गरेको छ। उक्त बोर्डमार्फत विदेशी विद्यार्थी भर्ना गर्न सक्ने शैक्षिक संस्थाहरूको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार र आवश्यक क्षमताको मूल्याङ्कन गरी मापदण्ड पूरा गरेका संस्थालाई मात्र अनुमति दिने व्यवस्था गर्नुपर्ने उसको माग छ।
त्यस्तै, विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न सहज हुने गरी अध्यागमनसम्बन्धी नियमावली संशोधन गर्नुपर्ने आइप्यानले जनाएको छ। विद्यार्थीलाई विद्युतीय प्रवेशाज्ञा (ई–भिसा) वा विदेशस्थित नेपाली नियोगमार्फत विद्यार्थी प्रवेशाज्ञा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने अध्यक्ष केसीले बताए।
अन्तर्राष्ट्रिय विद्यार्थी तथा शैक्षिक संस्थाले आवश्यक सेवा छिटो प्राप्त गर्न सक्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा पनि आइप्यानले जोड दिएको छ। प्रवेशाज्ञा प्रक्रिया, प्रशासनिक सेवा र संस्थागत स्वीकृतिसम्बन्धी कामलाई सहज बनाए नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्न मद्दत पुग्ने संस्थाको अपेक्षा छ।
सात देशका ३५ विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा
आइप्यानका अनुसार नेपालमा सात देशका ३५ विदेशी विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा छन। यस्ता कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका ५८ वटा शैक्षिक संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन।
संस्थाले यस क्षेत्रबाट करिब पाँच हजारले प्रत्यक्ष र १५ हजारले अप्रत्यक्ष रोजगारी पाएको दाबी गरेको छ। विदेशी विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूमा करिब २५ अर्ब रुपैयाँ लगानी रहेको पनि आइप्यानले जनाएको छ।
आइप्यानका अनुसार यस क्षेत्रबाट वार्षिक करिब ५० करोड रुपैयाँ प्रत्यक्ष र एक अर्ब रुपैयाँभन्दा बढी अप्रत्यक्ष राजस्व योगदान हुने गरेको छ। साथै, यस क्षेत्रले वार्षिक १५ देखि २० अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गर्ने संस्थाको दाबी छ।
शैक्षिक गुणस्तर र डिग्रीको विश्वसनीयता मुख्य आधार
पत्रकार सम्मेलनमा आइप्यानले नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने संस्थाको वैधानिकता र शैक्षिक गुणस्तरबारे प्रश्न उठाउँदा सम्बन्धित कानुनी व्यवस्था, संस्थागत स्वीकृति तथा कार्यक्रम सञ्चालनको अनुमतिलाई समेत ध्यान दिन सरोकारवालालाई आग्रह गरेको छ।
नेपालका शैक्षिक संस्थालाई सम्बन्धन दिने विदेशी विश्वविद्यालयको प्रत्यायन (एक्रेडिटेसन), प्रदान गरिने उपाधिको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता, शैक्षिक प्रतिष्ठा तथा अध्ययन पूरा गरेका विद्यार्थीले रोजगारी बजारमा पाउने अवसरका आधारमा मूल्याङ्कन गर्नुपर्ने आइप्यानको भनाइ छ।
विदेशी विश्वविद्यालयसँग सम्बन्धित सबै कार्यक्रमको गुणस्तर एउटै नहुने भएकाले सम्बन्धित विश्वविद्यालयको मान्यता, कार्यक्रमको स्वीकृति र उपाधिको स्वीकार्यतालाई आधार बनाएर निष्कर्ष निकाल्नुपर्ने संस्थाले जनाएको छ।
विदेशमा हुने खर्च नेपालमै रोक्ने लक्ष्य
अध्यक्ष केसीले नेपालमै अन्तर्राष्ट्रिय उपाधि हासिल गर्न सकिने अवसर विस्तार भए विद्यार्थी र उनीहरूका परिवारलाई आर्थिक तथा सामाजिक रूपमा फाइदा पुग्ने बताए। नेपालमै अध्ययन गर्दा विद्यार्थी परिवारसँगै बस्न सक्ने, विदेशमा लाग्ने आवास तथा दैनिक खर्च बचत हुने र देशभित्रै आर्थिक गतिविधि बढ्ने उनको भनाइ छ।
नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रम सञ्चालन भइरहे पनि अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत व्यवस्था, प्रचारप्रसार र सेवा प्रवाहमा सुधार गर्नुपर्ने आइप्यानको निष्कर्ष छ।
´नेपाल बसौँ, नेपालमै पढौँ’ र ‘स्टडी इन नेपाल’ अभियानमार्फत स्वदेशी विद्यार्थीलाई नेपालमै उपलब्ध शैक्षिक अवसरबारे जानकारी गराउनुका साथै विदेशी विद्यार्थीलाई समेत नेपालमा अध्ययन गर्न आकर्षित गर्ने लक्ष्य राखिएको छ।
तर, अभियानले अपेक्षित उपलब्धि हासिल गर्न शैक्षिक कार्यक्रमको गुणस्तर, विदेशी उपाधिको मान्यता, विद्यार्थी सेवा, भिसा प्रक्रिया र सरकारी नीतिगत सहजीकरण कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय महत्त्वपूर्ण हुनेछ।