काठमाडाैँ - तेह्रथुमको छथर गाउँपालिकाले पालिकाका सबै सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूका छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
गाउँपालिकाका अध्यक्ष सन्तवीर (सन्तोष) लिम्बुले सूचना नै जारी गरेर सरकारी सेवासुविधा लिने पदाधिकारीका छोराछोरी सामुदायिक विद्यालयमा नपढाए सेवा सुविधा रोकिने चेतावनी दिएका हुन्।
‘२०७५ सालदेखि नै सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने गरी निर्णय गरेको थिएँ’, उनले भने ‘तर, केही केहीले निजी विद्यालयमा पढाएर नाम चाहिँ सामुदायिक विद्यालयमा लेखाएको थाहा पाएपछि कडा भएको हुँ।’ लिम्बु यो पालिकामा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन्। अहिले भने पालिकाले विद्यालयमा विद्यार्थीका लागि सर्वेक्षण फारम भराइरहेको छ। सात दिनको समय दिएर फारम भर्ने काम भइरहेको अध्यक्ष लिम्बुले बताए।
‘कक्षा शिक्षक र प्रधानाध्यापकले हामीले पठाएको फारममा विद्यार्थीको विवरण राखेर प्रमाणित गरेर एक हप्ताभित्रमा पठाउनु हुन्छ’, उनले भने, ‘कसका छोराछोरी कहाँ पढ्दारहेछन् भन्ने थाहा हुन्छ। धेरै जनाले ढाँटेको सूचना आएको छ। अब उहाँहरूको सेवा सुविधा रोकिन्छ।’
अध्यक्ष लिम्बुले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘सरकारी सेवा सुविधा प्राप्त गर्ने सबैले शैक्षिक सत्र २०८२ देखि अनिवार्य रूपमा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुहुन वडामार्फत् सबै जनप्रतिनिधि, कर्मचारी, महिला स्वयंसेविकाहरूलाई अनुरोध छ।’
यस निर्णयको पालना नगरेमा गाउँपालिकाका करार कर्मचारीहरूको सेवा अवधि थप नगर्ने र करार सम्झौता भंग गर्ने चेतावनी पालिका प्रमुखले दिएका छन्। जनप्रतिनिधिहरूलाई नियमानुसार निलम्बन गरिने र स्थायी शिक्षक एवं कर्मचारीहरूको सेवा सुविधा रोक्का गरी कार्य सम्पादन मूल्यांकन प्रक्रिया रोकिने अध्यक्ष लिम्बुले चेतावनी दिएका छन्।
सामुदायिक शिक्षाको गुणस्तर सुधार्न यो निर्णय लिएको अध्यक्ष सन्तवीरले बताए। सरकारी सेवा सुविधा लिने व्यक्तिहरूले सरकारी शिक्षा प्रणालीलाई पनि समर्थन गर्नुपर्छ भन्ने मान्यता रहेको उनले बताए। यस निर्णयले गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको छ। पालिकाभित्र ४० वटा सामुदायिक विद्यालय छन्।
गत शैक्षिक सत्रमा यी सामुदायिक विद्यालयमा २९ सय विद्यार्थीले अध्ययन गरेका गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी धनबहादुर थापाले बताए। शिक्षक आन्दोलनका कारण यस वर्ष भने अहिले विद्यार्थी भर्ना अभियान चलाइरहेको पालिकाले जनाएको छ।