काठमाडाैँ - खोटाङको कालिका आधारभूत विद्यालयलाई गाउँलेले चन्दा उठाएर आवासीय विद्यालय बनाइएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डे दम्कुस्थित कालिका आधारभूत विद्यालयलाई आवासीय बनाइएको हो।
संस्कार सहितको व्यवहारिक शिक्षा प्रदानको लागि कालिका आविलाई आवासीय विद्यालयको रूपमा सुरु गरिएको विद्यालयले जनाएको छ। यसअघि देखिनै विद्यार्थीलाई कृषि उत्पादनसँग जोडिरहेको विद्यालयले हाल आवास पनि निर्माण गरेर विद्यार्थीलाई विद्यालयमै राख्न सुरु गरेको हो। अहिले पनि विद्यालय परिसरमा विद्यार्थीले उत्पादन गरेका टमाटर, बन्दा, प्याज लगायतका कृषि उपज देख्न सकिन्छ।
कालिका आविलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गर्नका लागि वडा सदस्य विशाल राईको संयोजकत्वमा आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको छ। हालसम्म करिब ९ लाख रकम विनिभन्न व्यक्तिहरूबाट सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष भीमबहादुर राईले बताए। किचन निर्माण, सामग्री खरिद, खाद्यान्य खरित लगायतमा करिब ४ लाख खर्च भएको उनको भनाइ छ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भइरहेको अवस्थामा कालिका आविले आवास र अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेर यो वर्ष विद्यार्थी सङ्ख्यामा वृद्धि गरेको छ। आवासका लागि सम्पूर्ण तयारी पूरा गरेर विद्यालयले जेठ एक गतेबाट औपचारिकरूपमा कालिका आविलाई आवासीय विद्यालय बनाएको छ।
वि स २०३६ सालमा स्थापना भएको कालिका आधारभूता विद्यालय अहिले कक्षा ८ सम्म सञ्चालनमा छ। यहि वर्षबाट कक्षा ८ सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राईले बताए। कक्षा दुईसम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ। एक जना कार्यालय सहयोगी, एक जना बाल विकास शिक्षक गरी जम्मा ९ जना विद्यालमा कार्यरत रहेको प्रधानाध्यापक टीकाराम राईले बताए।
आवासमा दलित, गरिब र अभिभावक बिहिन १० जना विद्यार्थीलाई निशूल्क राख्ने विद्यालयको योजना रहेको छ। हाल उक्त कोटामा ७ जना विद्यार्थी निःशुल्क बस्न सुरु गरेका छन्। हाल छात्र आवासमा १४ जना र छात्रा आवासमा २० जना विद्यार्थी बस्न सुरु गरेको प्रधानाध्यापक राईले बताए। विद्यार्थीको सहयोगका लागि छात्राहरूसँग एक जना शिक्षिका र छात्रहरूसँग एक जना शिक्षक पनि रहनेगरी व्यवस्थापन गरिएको उनको भनाइ छ। प्रधानाध्यापक राईका पनि २ छोरी आवासमै बस्न सुरु गरेका छन्।
आवासमा बसेका विद्यार्थीलाई खाना खाजा पकाउनका लागि एक जना कर्मचारी विद्यालयले राखेको छ। महिनाको ६५० सरसफाइ शुल्क र १ हजार ५ सय आवास शुल्क विद्यार्थीका अभिभावकबाट लिइने प्रधानाध्यापक राईले बताए।