काठमाडाैँ - बाग्लुङको बरेङ गाउँपालिका - २ हुग्दीशिरमा रहेको पुरुषोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न जातका तरकारी, माछा, कुखुरा, बङ्गुर, कागती लगायतका कृषि सामग्री उत्पादन गर्देआएका छन्। सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीहरुले कृषि सामग्री उत्पादन गरी बिक्री गर्ने गरेका छन्।
विद्यालयमा अध्ययनरत सबिन क्षेत्रीले पढ्दै कृषि सिक्न पाउँदा खुसी लागेको बताए। ‘हामीले यहाँ पढ्दै कृषि सिक्न पाएका छौँ। पढ्दै गर्दा सिप पनि सिकेका छौँ। यसले राम्रो भविष्यका लागि सहयोग पुर्याएको छ भन्ने लाग्छ।’
यहाँ उत्पादित कृषिजन्य सामग्री बिक्रीका लागि बजारको अभाव नभएको शिक्षकको भनाइ छ। विद्यालयले कृषि प्राविधिक शिक्षालाई समुदायसँग पनि जोड्ने प्रयत्न गरेको छ। वरिष्ठ कृषि प्रशिक्षक बिमल खड्काले प्राविधिक शिक्षालाई समुदायसँग जोड्न प्रत्येक घर परिवारलाई टनेलको व्यवस्था गर्ने बताए। यसले कृषि तर्फ विद्यार्थी र अभिभावकलाई आकर्षित गरेको बताए।
विद्यार्थी डोलबहादुर थापाले बङ्गुर पालन गर्दा ध्यान दिनुपर्ने विषय, बङ्गुरमा लाग्न सक्ने रोग, यसको बजारको अवस्थाको बारेमा जानकारी भएको र विद्यार्थीको सिकाइलाई गुणस्तरीय बनाउन बरेङ गाउँपालिकाले पनि राम्रो सहयोग पुर्याउँदै आएको उनले बताए। उनले भने, 'विद्यालयमा आर्थिक रुपमा विपन्न र टाढाबाट आउने विद्यार्थीलाई होस्टेलको व्यवस्था गरिएको छ। यसले पढाईमा ठुलो सहयोग पुर्याएको छ।’
पालिकाको अनुदानमा लेयर्स जातका कुखुरा पालिएको छ। यसबाट विद्यार्थीले कुखुरापालनसम्बन्धी ज्ञान सिप हासिल गर्नुका साथै विद्यालयबाट पढाई सकिदा साथ उद्यमी र व्यवसायी बन्ने शिक्षकको विश्वास छ।