काठमाडाैँ - उपल्लो मुस्ताङमा भारत सरकारको सहयोगमा दिव्यदीप माध्यमिक विद्यालयमा २४ कोठे आवासीय छात्रावास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ। लोमान्थाङ गाउँपालिका - २, छोसेरमा रहेको दिव्यदीप माध्यमिक विद्यालय प्राङ्गणमा एक समारोहका बिच कुल चार करोड ३० लाख ८५ हजार ३४९ रुपैयाँ आर्थिक लागतमा निर्माण हुने भवनको उद्घाटन गरिएकाे हाे।
शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरूङले आवासीय भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै सहयोगको प्रशंसा गरेका थिए । भवन निर्माणमा भारतीय दूतावासबाट कुल लागतको ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले बताए।
भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण उदाहारण रहेको बताए। भवन शिलान्यासमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेकाे थियो।
उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिव्यदीपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देहीलगायतका जिल्लासहित बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताए।
भवन निर्माणका लागि स्थानीय वृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा दान दिएका थिए। उपल्लो मुस्ताङमा भारत, चिनियाँ, अमेरिकाको सहयोगमा विभिन्न परियोजनामा वर्षेनी लगानी गर्ने गरिएको छ।