काठमाडाैँ- खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ताको सरस्वती माविमा दुईवटा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिएको छ। गोर्खा वेल्फेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवनको निर्माण गरिएको हो। सरस्वती माविमा विद्यालय र समुदायको समेत सहभागितामा सुविधा सम्पन्न भवन निर्माण गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए।
उनले २ करोड ६५ लाख ९२ हजारको लागतमा एउटा आठ कोठे र एउटा चार कोठे भवनको निर्माण गरिएको बताए। ६ महिनाको छोटो समयमा द्रुत गतिमा ट्रस्टले भवन निर्माण सम्पन्न गरि विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको अध्यक्ष राईले बताए।
नवनिर्मित भवन गोर्खा वेल्फेयर ट्रस्ट नेपाल एरिया वेल्फेयर सेन्टर, दिक्तेलका एरिया वेलफेयर अफिसर चित्रबहादुर गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईलाई हस्तान्तरण गरे। गोर्खा वेल्फेयर ट्रष्टले इँटा र सिमेन्टको पक्की वाल, फलामको ट्रसमा जस्तापाताको छाना, प्लाइउडको फल्स सिलिङ, काठको झ्यालढोका लगाई दुई तले दुई वटा भवन निर्माण गरेको छ।
भवन निर्माणका लागि गोर्खा वेल्फेयर ट्रस्टको २ करोड ३५ लाख ४४ हजार ३३३ रुपैयाँ र विद्यालयका तर्फबाट ३० लाख ४७ हजार ७१६ रुपैयाँ खर्च गरिएको गाउँपालिकाका लेखापाल उत्तम आचार्यले बताए। भुपु बेलायती सेना समेत रहेका गाउँपालिका अध्यक्ष राईको पहलमा गोर्खा वेल्फेयर ट्रस्टले सरस्वती माविलाई भवन निर्माणका लागि छनौट गरेको थियो।
भवनसँगै आठ कोठे शौचालय, खानेपानी ट्यांकी, कम्पाउन्ड, चार कोठामा बालमैत्री फर्निचर, भित्तेलेखन तथा कार्पेटिङ, बालमैत्री धारा लगायतका संरचना निर्माण गरिएको छ। ट्रस्टले विद्यालयलाई फलामको ४० जोर डेस्क बेन्च पनि उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक शीतल राईले बताइन्।
उनले ट्रस्टले सुविधा सम्पन्न भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेपछि विद्यार्थीहरूको पठनपाठनमा सहज भएको बताएकी छन्।