चितवन- भरतपुर महानगरले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। दुई सय ७४ जना विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका हुन्। महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइनबाट आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको जनाएको छ।
भरतपुर महानगरका मेयर रेनु दाहालले मनखुसी र पहुँचका आधारमा छात्रवृत्ति दिने प्रवृत्ति नियन्त्रण गर्न सफल भएको बताइन्।उनले भनिन्,'विद्यार्थीको क्षमता र योग्यताका आधारमा पारदर्शी रुपमा विद्यार्थीलाई कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको छ।'
छात्रवृत्ति पाएकाहरूमध्ये विज्ञानतर्फ एक सय ६३ जना छन् भने एक सय ११ जना अन्य विषय पढ्नेहरू छन्। जेहेन्दारतर्फ एक सय १५ जना, गरिब तथा विपन्नतर्फ ९९ जना, आदिवासी जनजातितर्फ २७ जना, दलित तफए १७ जना, अपांगता भएका ७ जना, जनआन्दोलनका घाइतेका सन्ततीतर्फ ५ जना, शहीदका सन्ततीतर्फ तीन जनाले छात्रवृत्ति पाएका छन्।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९, १०:५५:००