काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले ५२औँ दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन अनलाइन आवेदन फाराम भर्ने म्याद पाँच दिन थप गरेको छ। प्राविधिक समस्याका कारण विद्यार्थीलाई आवेदन दिन असुविधा भएपछि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले कात्तिक १२ गतेसम्म तोकिएको समय बढाएर कात्तिक १७ गतेसम्म पुर्याएको हो।
विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीले थपिएको समयभित्र अनलाइन आवेदन फाराम भर्न सक्नेछन्। यसअघि आवेदनका लागि असोज १ गतेदेखि कात्तिक १२ गतेसम्मको समय निर्धारण गरिएको थियो।
को–कोले दिन पाउँछन् आवेदन ?
विश्वविद्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थी पनि दीक्षान्त समारोहमा सहभागी हुन योग्य हुनेछन्।
सातै प्रदेशमा दीक्षान्त समारोह
यसपटक त्रिविले विद्यार्थीको सहजताका लागि पहिलोपटक सातै प्रदेशमा दीक्षान्त समारोहका केन्द्र निर्धारण गरेको छ। बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समारोह सञ्चालन गरिनेछ।
विद्यार्थीले अनलाइन फाराम भर्दा आफू सहभागी हुने प्रदेशको केन्द्र छनोट गर्नुपर्नेछ। तर एकपटक छनोट गरेको केन्द्र पछि परिवर्तन गर्न पाइनेछैन। एमफिल, पीएचडी तथा उत्कृष्ट स्थान हासिल गरेका र पदक प्राप्त गर्ने विद्यार्थीका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ।
तहअनुसार दीक्षान्त शुल्क
त्रिविले दीक्षान्त तथा प्रमाणपत्र शुल्क तहअनुसार निर्धारण गरेको छ। स्नातक तहका विद्यार्थीले तीन हजार, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीले तीन हजार पाँच सय र पीएचडी तहका विद्यार्थीले चार हजार रुपैयाँ बुझाउनुपर्नेछ।
त्यसैगरी सबै तहका विद्यार्थीले गाउन र स्कार्फका लागि दुई हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्नेछ। गाउन तथा स्कार्फ फिर्ता गर्दा पाँच सय रुपैयाँ मर्मत खर्च कट्टा गरी बाँकी रकम सम्बन्धित विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।
दीक्षान्त समारोहमा विद्यार्थीले बढीमा दुई जना अभिभावक सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि चार सय रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ। त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप पाँच सय रुपैयाँ बुझाउनुपर्नेछ।
आवेदनका लागि आवश्यक कागजात
अनलाइन आवेदन फाराम भर्दा सेतो पृष्ठभूमिसहितको पासपोर्ट आकारको फोटो, नागरिकताको प्रमाणपत्र र उत्तीर्ण तहको ट्रान्सक्रिप्टको स्क्यान प्रतिलिपि अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
दीक्षान्त तथा प्रमाणपत्र शुल्क नेपाल बैंक लिमिटेड वा ग्लोबल आइएमई बैंकमार्फत अनलाइन बैंकिङबाट मात्र भुक्तानी गर्न सकिनेछ। शुल्क बुझाएपछि प्राप्त हुने भुक्तानी रसिद र कारोबार नम्बर सुरक्षित राख्नुपर्नेछ।
योग्य विद्यार्थीले त्रिविको परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np तथा आवेदन पोर्टल student.tuexam.edu.np मार्फत प्रक्रिया पूरा गर्न सक्नेछन्।
दीक्षान्त समारोहको विस्तृत कार्यक्रम, मिति र स्थानबारे विश्वविद्यालयले पछि सूचना प्रकाशित गर्ने जनाएको छ।