काठमाडाैँ - जिल्लाको रामपुर नगरपालिका - ५ स्थित रामघाटमा जेष्ठ नागरिक विद्यालय सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। रामपुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि सञ्चालन गर्न लागेको जेष्ठ नागरिक विद्यालय व्यवस्थापनको अन्तिम तयारी भईरहेको रामपुर नगरपालिकाले जनाएको छ।
जेष्ठ नागरिकहरुलाई सम्मान सहितको सक्रिय जीवन निर्वाहसँगै संस्कार र संस्कृतिको संरक्षण, उनिहरुको अनुभव र ज्ञान नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यका साथ जेष्ठ नागरिक विद्यालय सञ्चालन गर्न लागेको हो। संस्कृतिको संरक्षणसँगै उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मानसहितको सक्रिय जीवन निर्वाहका लागि विद्यालय सञ्चालन गर्न लागिएको नगर प्रमुख रमण बहादुर थापाले बताए।
उनले विद्यालयमा विषेशगरी दिउँसोको समयमा जेष्ठ नागरिकहरुलाई स्कुल सम्म ल्याई पुराना संस्कार र संस्कृतिबारे नयाँ पुस्ताले अध्ययन गर्न पाउने व्यवस्था गरिने बताए। 'विद्यालय सञ्चालनको उद्देश्य जेष्ठ नागरिकको सम्मानका लागि मात्र होइन। संस्कार र संस्कृतिको संरक्षण गर्नु पनि हो,' उनले भने।
साथै उनले नगर भित्रका सबै विद्यालयलाई क्रमशः जेष्ठ नागरिक स्कुलमा अध्ययन अवलोकनको व्यवस्था गरिने जानकारी दिए। जेष्ठ नागरिक स्कुलले संस्कार, संस्कृतिको संरक्षण र पुस्तान्तरणमा टेवा पुग्ने बताए। जेष्ठ नागरिक स्कुलमा धार्मिक प्रवचन, भजन कृतन, घरेलु सामग्री र यसको प्रयोग, जेष्ठ नागरिकहरुका लागि दिवा खाजा, स्वास्थ्य परिक्षण सहित सन्ध्या आरतीको व्यवस्था गरिने रामपुर नगरपालिकाले जनाएको छ।
विद्यालयका लागि भवन निर्माणसँगै जेष्ठ नागरिकलाई आवतजावतको लागि बस खरिद गरिसकेको र व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए। जेष्ठ नागरिक स्कुललाई व्यवस्थित रुपमा सञ्चालनका लागि बुद्धि प्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालन समिति गठन गरिएको छ।